शान्तिपूर्ण रुपमा सातै प्रदेशमा यसरी भइरहेको छ मतदान (फोटोफिचर)



काठमाडौं : राष्ट्रिय सभाको रिक्त १९ पदमध्ये १८ पदको लागि आज बिहान १० बजेदेखि देशका सात वटै प्रदेशमा मतदान भइरहेको छ ।

प्रदेश १ का लागि विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, २ का लागि जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायण स्मृति भवन, वागमती प्रदेशका लागि ललितपुर महानगरपालिका–४ स्थित वडा समिति भवन, गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा अवस्थित निर्वाचन कार्यालय, प्रदेश ५ का मतदाताका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशका मतदाताका लागि जिल्ला निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका दीपायलस्थित पद्य पब्लिक मुक्तिनारायण उच्च माविमा आज (बिहीबार) बिहान १० बजेबाट मतदान शुरु भएको हो ।

सातै प्रदेशको मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

मतदानस्थल तोकिएका सातै प्रदेशमा शान्तिपूर्ण रूपमा अहिले मतदान भइरहेको निर्वाचन आयोगका ५३ हजार ५ सय ८ मतभार रहेको निर्वाचनको चुनावी मैदानमा ६ दलका ४५ उम्मेदवार छन् ।

मतदान अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।

जारी निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले १६, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १६, समाजवादी पार्टीले ७ र राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले २–२ जना उम्मेदवार उठाएका छन् । यो निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य गरी जम्मा २ हजार ५६ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्