ईमोबाट ठगी गर्ने चार पक्राउ



विराटनगर : ईमोलगायतका सामाजिक सञ्जालबाट ठगी गर्ने चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ७ हाटखोलाको लक्ष्मी मनी ट्रान्सफर अगाडिबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ परेकाहरूले बारा प्रसौनी गाउँपालिका ६ बेलही बस्ने सखिना खातुनलाई ईमोमा लट्री परेको भन्दै ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार लट्री परेको लोभमा परेर खातुनले ३० हजार रुपैयाँ पठाएकी थिइन् । पछि फेरी ७५ हजार रुपैयाँ पठाउनु भनेपछि आफू ठगिएको शंका लागेर उनले प्रहरीलाई खबर गरिन् । 

 

ठगीमा संलग्न मोरङ कटहरी गाउँपालिका ३ का २६ वर्षीय श्रवण मल्लाह, ३४ वर्षीय मन्जयकुमार सिंह, ३४ वर्षीय शत्रुघन कुमार तत्मा र जहदा गाउँपालिका ४ का २१ वर्षीय अजयकुमार सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट एक लाख ४५ हजार रुपैयाँ नगद र चार वटा मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरू विरुद्ध ठगी मुद्दा चलाउन शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्