विरोधस्वरुप पत्रकारहरु कालोपट्टी बाँधेर राष्ट्रियसभा निर्वाचनको रिपोर्टिङ्ग गर्दै



जनकपुरधाम : पत्रकारहरुमाथि जनकपुरधाम उपमहानगरपालिकामा भएको कुटपिट र दुर्व्यवहारको बिरोधमा पत्रकारहरुले आज कालोपट्टी बाँधेर राष्ट्रियसभा निर्वाचनको रिपोर्टिङ्ग गरिरहेका छन् ।

प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी पत्रकारहरुमाथि गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको निर्देशनमा गरिएको कुटपीट तथा दुर्व्यवहारको बिरोध गर्दै जनकपुरधामका पत्रकारहरुले कालोपट्टी बाँधेर काम गरिरहेका हुन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाले गठन गरेको संघर्ष समितिले पत्रकारहरुलाई कुटपीट गर्ने दोषीमाथि कारबाही नभएको भन्दै गत माघ ७ गतेदेखि नै कालोपट्टी बाँधेर बिरोध जनाउँदै आईरहेका छन् । त्यसैक्रममा उनीहरुले आज निर्वाचनमा समेत कालोपट्टी बाँधेर समाचार संकलन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय र उपमहानगरबिच भएको ९ बुँदे सहमति पश्चात पनि दोषीहरुलाई कानूनी दायरामा नल्याइएकोले शान्तिपूर्ण रुपमा बिरोध गर्नु परिरहेको नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्णले बताए ।

प्रेस स्वतन्त्रता एवं सूचनाको हकको प्रत्याभूति नभएसम्म बिरोध जारी राख्ने महासचिव कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्