मुलुकको अर्थतन्त्रमा वीरगन्जले दिदै आएको योगदानको कदर भएन : गृहमन्त्री थापा



वीरगन्ज : गृहमन्त्री राम बहादुर थापा (बादल)ले मुलुकको अर्थतन्त्रमा वीरगन्जले दिदै आएको योगदानको कदर र सम्मान नभएको स्वीकार्य गरेका छन । 

 

शुक्रबार वीरगन्जमा आयोजित वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधरणसभाको उद्घाटन समारोहमा बोल्ने गृहमन्त्री बादलले नेपालको आर्थिक र औद्योगिक विकासमा वीरगन्जको ऐतिहासिक र महत्वपूर्ण भूमिका रहेको बताए ।

 

वीरगन्जको योगदानको कदर र सम्मान हुन सकेको छैन तर यसको जिम्मेवार अहिलेको सरकार भने होइन गृहमन्त्री बादलले भने यसको दोषी विगतको एकात्मक शासन प्रणाली हो ।  

 

अहिले मुलुकमा एकात्मक शासन प्रणाली समाप्त भई संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली लागू भइसकेकाले अब वीरगन्ज र यहाँको उद्योग व्यापार उपेक्षामा नपर्ने दाबीसमेत उनको थियो । 

    ‘वीरगन्जलाई केन्द्र सरकारले हेरेन, योगदानको मुल्यांकन गरेन भन्ने गुनासो हिजोको शासन व्यवस्थामा थियो ।,’ गृहमन्त्री बादलले भने,‘अब राजनीतिक शासन व्यवस्था परिवर्तन भइसकेको छ काठमाण्डौमा मात्रै केन्द्रित रहने अधिकारहरु अब प्रदेश र स्थानीय सरकारमा विकेन्द्रिकरण भइसकेको छ । त्यसैले अब वीरगन्जले पनि गुनासो गर्ने अवस्था रहदैन ।’ 

 

पर्सा र बारामा पर्ने वीरगन्ज पथलैया औद्योगिक कोरिडोरलाई नेपालकै मुख्य लाइफलाइनको संज्ञा दिदै गृहमन्त्री बादलले वीरगन्ज र यहाँका उद्योगी व्यापारीको गुनासा र समस्या सम्बोधन गर्नका लागि संघीय सरकार प्रतिबद्ध रहेको पनि बताए । 

 

वीरगन्ज र यस क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवका योजनाहरु पुरा गर्न सरकार लागि परेको पनि उनले बताए । कार्यक्रममा बोल्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले वीरगन्जसँग भइरहेको विभेद नरोकिए पर्सा, बारा र रौतहट तीन जिल्लालाई समेटेर छुट्टै प्रदेश बनाउनु पर्ने माग शशक्त रुपमा उठ्ने चेतावनी दिए  ।

 

 ‘पहिले काठमाण्डौंको सरकारले विभेद गर्‍यो, अहिले प्रदेश सरकारले प्रादेशीक संरचनाहरु सबै जनकपुरमा मात्रै केन्द्रित गरेर वीरगन्जसँग विभेद गरिरहेको छ ।,’ उनले भने ‘यदि वीरगन्जसँग भइरहेको विभेद रोकिएन भने पर्सा, बारा र रौतहट जिल्लाई समेटेर अलग प्रदेश बनाउनु पर्छ भन्ने माग उठ्ने निश्चित छ ।’

 

 वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले पनि वीरगन्जको विकासमा विभेद नगर्न प्रदेश र संघीय सरकारसँग आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्