बेलायती अध्येताद्वारा पतौरा मन्दिरको पुरातात्विक अध्ययन



रौतहट : रौतहटको मौलापुर नगरपालिकाको पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्विक अध्येताहरुद्वारा अध्ययन शुरु भएको छ । मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्विक अध्ययन गर्न थालिएको हो ।

दुई दशक पहिलेसम्म मन्दिरको कुनै नामो निसान नरहेको तर घरपछाडिको बारी खन्ने क्रममा पुराना इँटाहरु भेटिएपछि स्थानीयले सामान्य उत्खनन गर्दा मन्दिरको संरचना भेटिएको थियो । माओवादी द्वन्द्व उत्कर्षमा रहेको बेला मन्दिरको संरचना जमिनमुनि भेटिएपछि तत्काल सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई मन्दिर बनाएर पूजाआजा गर्न थालिएको थियो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिको लागि विभिन्न पुरातत्वविदसित समन्वय गरी अध्ययन शुरु गरिएको छ । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्वविद नारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको नगरपालिकाका इन्जिनियर अशोक साहले बताएका छन् ।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको छ । सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना १११४ वि.सं.)लाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो भएको हुन सक्ने अनुमान गरिएको छ ।

मन्दिरप्रति पुरातात्विक चासो वृद्धि भएपछि यसको अध्ययन थप जटिल बनेको छ । पतौरा महादेव मन्दिरको विषयमा चासो बढेपछि बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन थालेको छ । जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्विक अध्ययन थालेको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले बताएकी छन् ।

पहिले सामान्य अनुमान सेनकालीन मन्दिरको संरचनाजस्तो लागेको थियो तर प्रारम्भिक पुरातात्विक अध्ययनले कर्णाटकालीन भनेर रिपोर्ट आउँदा दंग परेका स्थानीयबासी कर्णाटकालीन समयभन्दा पनि पुरानो मन्दिरको अवशेष देखिएपछि अध्ययन झन् चुनौतीपूर्ण बनेको पुरातात्विक टोलीलाई निरन्तर सहयोग गरिरहेका कलाकार तथा साहित्यकार विजय यादव निर्बिजले बताए ।

मौलापुर नगरपालिकाले पुरातत्व विभागसित समन्वय गरेर मन्दिरको पुरातात्विक अध्ययन गराउने तथा संरक्षण गराउनेतर्फ कदम चालिसकेको इन्जिनियर साहले बताए । आगामी फागुन ६ मा राष्ट्रपति विद्यादेवी भण्डारी पनि मन्दिरको अवलोकनका साथै विभिन्न कार्यक्रममा सहभागी हुन मौलापुर आउने कार्यक्रम रहेको र त्यसलाई केन्द्रविन्दूमा राखेर तयारी भइरहेको साहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्