प्रदेश २ मा शतप्रतिशत मत खस्यो, मतपरिणाम आजै आउने



जनकपुर : राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश २ मा शतप्रतिशत मत खसेको छ। ३ सय ७९ मतदाता रहेको प्रदेश २ मा शत प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजु कुमार खतिवडाले जानकारी दिएका छन् ।

निर्वाचनमा १ सय ७ जना प्रदेशसभा सदस्य र २ सय ७२ जना स्थानीय तहका प्रमुख, उपप्रमुख गरी ३ सय ७९ जना मतदाताले मतदान गरेका छन् । आज (बिहीबार) बिहान १० बजेदेखि शुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको छ ।

मतदान सम्पन्न भएपश्चात अहिले राजनीतिक दलहरूको सहमतिमा मतगणना गर्नका लागि सर्वदलीय बैठक शुरु भएको छ ।

मतपरिणाम पनि आजै सार्वजनिक हुने निर्वाचन अधिकृत राजु कुमार खतिवडाले जानकारी दिए ।

प्रदेश २ मा राष्ट्रियसभा सदस्यको चार पदका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग राष्ट्रिय जनता पार्टी नेपाल राजपा र नेपाली काँग्रेससँग समाजवादी पार्टीले गठबन्धन बनाएर आआफ्नो उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । महिला एकपदको लागि भएको निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसको तर्फबाट नगिना यादव,दलित एक पदका लागि भएको चुनावमा नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवान प्रतिष्पर्धामा छन् भने अल्पसंख्यक १ पदका लागि नेपाली कांग्रेसबाट भोला पंजियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन् । त्यस्तै अन्य एक पदका लागि भएको निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंहबिच प्रतिस्पर्धा हुने छ ।

प्रदेश २ मा नेकपाको ३२ प्रदेशसभा सदस्य र ८३ स्थानीय तहका प्रमुखरउपप्रमुख गरी जम्मा १ सय १५ मतदाता छन् भने राजपाको २५ प्रदेशसभा सदस्य र ५४ नगरप्रमुखर उपप्रमुख गरी ७९ जना छन् ।

नेकपा र राजपा गठबन्धनको कुल मतदाता संख्या १ सय ९४ रहेको छ ।

त्यस्तै नेपाली कांग्रेसको १९ प्रदेशसभा सदस्य र ८१ स्थानीय तहका प्रमुखरउपप्रमुख गरी १ सय मतदाता छन् भने समाजवादीको ३० जना प्रदेशसभा सदस्य तथा ५२ स्थानीय तहका प्रमुखर उपप्रमुख गरी जम्मा ८२ जना मतदाता छन्। कांग्रेस र समाजवादी गठबन्धनको जम्मा मतदाता १ सय ८२ छन् ।

प्रतिक्रिया दिनुहोस्