राप्रपाको चियापानमा पृथ्वी नारायणको सम्झना



काठमाडौं : राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई विभिन्न राजनीतिक दलका नेताले राष्ट्रिय एकीकरणका प्रमुख व्यक्तिका रुपमा सम्झिएका छन् । शाहको २९७औँ जन्मजयन्तीका अवसरमा विभिन्न दलका नेता तथा राजनीतिज्ञले उनको योगदानको कदर गर्दै पुष्पअर्पण गरेर स्मरण गरे । 

नेताहरुले राष्ट्रको एकता र सार्वभौमसत्ता जोगाउन पृथ्वीनारायणले खेलेको भूमिका प्रशंसनीय रहेकाले आजको दिनलाई त्यहीअनुसार स्मरण गर्नुपर्नेमा जोड दिएका थिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले राष्ट्रको एकता, सार्वभौमसत्ता र स्वाभिमान जोगाउन शाहले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्मरण गरे । आजको दिनमा बिदा कटौती हुनु दुखद् रहेको उल्लेख गर्दै खनालले यसको पुनः व्यवस्था हुने बताए । 

चियापानमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासमेत सहभागी भएका थिए । पृथ्वीनारायणलाई सुझबुझ भएको नेपाली राष्ट्रियताको प्रतीकका रुपमा सम्झँदै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “उहाँले राष्ट्रिय एकीकरण गरेकाले हामीले नेपालीको रुपमा गौरव गर्ने अवसर पाएका छौँ, त्यसकारण उहाँप्रति ठूलो सम्मान छ ।” 

विसं २०६२/६३ को आन्दोलनपछि वातावरण त्यस्तै बनेकाले उहाँको सम्झना कम भएको भन्दै पौडेलले जस–जसले योगदान गरे उनीहरुलाई सम्झनुपर्नेमा जोड दिए । बिदा कटौती नगर्दा नै राम्रो हुने उनको सुझाव छ । 

अर्का नेता गोपालमान श्रेष्ठले राष्ट्रको एकता र एकीकरणमा पृथ्वीनारायणको ठूलो भूमिका रहेकाले त्यही भूमिकालाई सम्झेर स्मरण गर्नुपर्ने उल्लेख गरे ।  

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले पृथ्वीनारायणको योगदानलाई सम्झनेको जमात बढ्दै गएको बताए । राज्यबाट पनि विचार विमर्श गरेर सम्झने वातावरण बन्ने विश्वास व्यक्त गर्दै उनले राष्ट्रको स्वाभिमान र एकतालाई मजबुत बनाउँदै अगाडि बढाउनुपर्ने आजको दिनले सन्देश दिएको उल्लेख गरे ।  

चियापान समारोहमा सहभागी नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले नेपाललाई एकताबद्ध बनाएर पृथ्वीनारायणले महत्वपूर्ण योगदान पुर्‍याएको कुरामा कुनै विवाद नरहेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आजको दिनले सबै राजनीतिक शक्तिमा सद्भाव र एकताको अभिवृद्धि गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे । आगामी दिनमा सरकारले पूर्ण रुपमा मान्यता दिएर सार्वजनिक बिदा दिने आशा राखेको उनको भनाइ थियो । 

चियापानमा नेपाली काङ्ग्रेसका कोषाध्यक्ष सीतादेवी यादव, परराष्ट्रविद् रमेशनाथ पाण्डे, पूर्वप्रहरी अधिकृत रमेश खरेल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्