प्रदेश नं ५ का लेखा समिति सभापतिद्वारा गाडी फिर्ता



बुटवल : प्रदेश नं ५ को सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् । 

उनले सचिवालयको जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई लु१झ ४४१ नं को गाडीको साँचो फिर्ता गरे । केही दिनयतादेखि गाडी खरीदमा अनियमितता भएको भन्दै समाचार बाहिर आएको थियो । 

“कागजात झिकाइ छानबिन शुरु गरेको अवस्थामा गाडी चढ्नु उपयुक्त नहुने भएकाले नैतिकताको आधारमा गाडी फिर्ता गरेको छु”, सभापति चौधरीले भने, “प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई १३ वटा गाडी खरीद गरेको थियो ।” 

यसैबीच सार्वजनिक लेखा समितिले खरीद गरिएका सबै गाडीको फाइल झिकाएर छानबिन प्रक्रिया शुरु गरेको छ । 

समितिको आज बसेको बैठकमा गाडीको विषयमा बाहिर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खरीद गरिएका सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा छानबिन कार्यदल गठन गरेको छ । 

कार्यदलमा वैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्