चीनमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या



बीबीसी : चीनको वुहान सहरमा हृदयाघातका कारण मृत्यु भएका एकजना नेपाली नागरिकको शव नेपाल पठाउन समस्या भएको चीनस्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।

नयाँ घातक भाइरस फैलनबाट रोक्न चीनले वुहानमा यातायात सेवा बन्द गरिदिएपछि गत आइतवार हृदयाघातका कारण निधन भएका दोलखाका ४० वर्षिय पुष्कर खड्काको शव नेपाल ल्याउन समस्या भएको हो।

करिब १५ वर्षदेखि वुहानस्थित एउटा रेस्टुरेन्टमा कार्यरत खड्काको शव नेपाल पठाउन कानुनी प्रक्रिया सुरु भइसकेको दूतावासका अधिकारीले बताए।

बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालका अनुसार शनिवार राति केही नेपाली साथीहरूसँगै रहेका उनको सुतेकै अवस्थामा निधन भएको थियो।

बीबीसीसँग टेलिफोनमा कुराकानी गर्दै लम्सालले भने, ‘हामीले शव नेपाल फर्काउने पहल गरिरहेका छौँ। वुहानमा आवागमन नियन्त्रित भएकाले समस्या भएको हो।’

बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्