पिक एन्ड ड्रप : ट्राफिक जाममा कमी यात्रुलाई असहज



काठमाडाैं: काठमाडौं महानगरपालिकाले राजधानीका केही सवारी रुटमा ‘पिक एन्ड ड्रप’ नियम लागू गरेको छ । महानगरको सो नियमलाई ट्राफिक प्रहरीले कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । विगतमा काठमाडौंका सडकमा जहाँ मन लाग्यो, त्यहीँ यात्रु टिप्ने र गाडी चढ्ने प्रवृत्तिमा कमी आएको छ ।

महानगरको यस्तो नियमले सास्ती व्यहोर्नुपरेको भन्दै तीन–चार दिन भृकुटीमण्डपको सडकमा यात्रु र ट्राफिक प्रहरीबीच झडपसमेत भयो । तर, ट्राफिक प्रहरीले यो नियमलाई कडाइका साथ कार्यान्वयनमा ल्याएकाले अहिले यात्रुहरू निश्चित ठाउँमा बसेर गाडी चढ्ने गरेका छन् । ‘पिक एन्ड ड्रप’ले यात्रुलाई केही असहज भए पनि निजी तथा अन्य सवारीसाधन चलाउनेलाई भने सहज भएको छ । ट्राफिक जाम केही कम भएकाले अलि चाँडै गन्तव्यमा पुग्न थालेका छन् । 

 अस्पताल जाने बिरामी मर्कामा

कान्ति बाल अस्पतालबाट छोरीको स्वास्थ्य जाँच गरी रत्नपार्क हुँदै चाबहिल जान हिँडेकी चितवनकी शान्ति चौधरीलाई बसले सुन्धारामा ओरालिदियो । सदाझैँ रत्नपार्कमा ओर्लेर भृकुटीमण्डपबाट बस चढेर चाबहिल जाने सोच बनाएकी उनले सुन्धाराबाट भृकुटीमण्डपसम्म बच्चा बोकेर हिँडेर आउनुप-यो । पाठेघरसम्बन्धी समस्याबाट पीडित उनी ओम अस्पताल जान लागेकी थिइन् । ‘पाउनसम्म दुःख पाइयो । किन यसरी हिँडाएको होला ?’ थकित देखिएकी उनी भन्दै थिइन् ।  

सिंहदरबारबाट लैनचौर जान हिँडेका श्याम नेपालीले भृकुटीमण्डपमा आधा घन्टा बस कुरे । त्यो रुटका कुनै बस पनि त्यहाँ नरोकिएपछि जब उनले ट्राफिक प्रहरीसँग बुझे, तब मात्र थाहा पाए, बस चढ्न सुन्धारा पुग्नुपर्छ । 

यी त प्रतिनिधि पात्र मात्रै हुन् । अधिकांश यात्रुले १ पुसदेखि टुँडिखेलआसपासका क्षेत्रमा लागू भएको ‘पिक एन्ड ड्रप’का कारण सास्ती भोग्दै आइरहेका छन् । सार्वजनिक सवारीले टुँडिखेलआसपास यात्रु पर्खन नपाउने गरी ओराल्ने र चढाउने ‘पिक एन्ड ड्रप’ नियमले यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।

एउटा सवारीसाधनले केही यात्रु कुर्ने क्रममा लामो जाम भएको र इन्धन जलेर वातावरणमा ह्रास आएकाले यस्ता समस्यामा कम गर्न भन्दै काठमाडौं महानगरपालिकाले यो व्यवस्था लागू गरेको हो । पहिलो चरणमा हाल विभिन्न ११ वटा रुटमा यो व्यवस्था लागू भएको छ । जसअनुसार एक सवारीसाधनले एक स्थानबाट मात्र यात्रु ओराल्न र चढाउन पाउनेछन् । यो व्यवस्था अब सबै रूटमा लागू गर्ने तयारीसमेत भइरहेको छ ।

 जाममा गाडी चढ्ने होड

गाडी चढ्न हिँड्नुपर्ने बाध्यता भएपछि यात्रुले जाममै गाडी चढ्ने गरेका छन् । यो व्यवस्था लागू भएको रुटमा जाम परेको अवस्थामा दौडिएर गाडी चढ्ने होड नै चल्ने गरेको छ । हिँड्नुभन्दा जाममा बस चढ्नु निको भन्दै यात्रुमा यस्तो होड देखिएको छ । जाममा गाडी चढ्न सडकबार नै नाघेर जाने अवस्थासमेत निम्तिएको छ । जसले दुर्घटनाको सम्भावना बढाएको छ । तर, ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त भने यो व्यवस्थाका कारण जाम कम भएकाले त्यो सम्भावना नरहेको बताउँछन् ।  

 जाम घटेको दाबी 

‘पिक एन्ड ड्रप’ लागू भएपछि सडकको भद्रगोल जाम कम भएको ट्राफिक प्रहरीको दाबी छ । ‘जाम घटाएको छ । सबै गाडी प्रतिस्पर्धा गर्दै एकै ठाउँमा आएर रोक्ने, यात्रु पर्खने कारण जाम हुने र दुर्घटनाको सम्भावना बढी थियो । अहिले त्यो कम भएको छ,’ पन्तले भने । यसले गर्दा सडक अनुशासन कायम भएको उनको भनाइ छ । 

 प्रचार–प्रसारको कमी

प्रचार–प्रसारको अभावमा धेरैले सास्ती व्यहोर्नुपरेको छ । खासगरी बालक, वृद्ध र अपांगता भएकालाई समस्या बढी हुने गरेको छ । ‘प्रचार–प्रसारको कमी देखिएको छ । अशक्तहरूलाई हामीले सबै ठाउँमा चढ्न सक्ने व्यवस्था गरेका छौँ,’ पन्तले भने, ‘सबैमा घरअघि नै गाडी चढ्न पाउनुपर्छ भन्ने मान्यता छ । सोही कारण सास्ती भयो भनिएको हो ।’ महानगरपालिकालाई ‘पिक एन्ड ड्रप’ लागू भएकोबारे ठूलो बोर्ड राख्न ट्राफिक प्रहरीले आग्रह गरिरहेको नयाँपत्रिकामा खवर छ। 

प्रतिक्रिया दिनुहोस्