मनाङेको मुक्का खाएका गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी



पोखरा : गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले मुक्का प्रहार गरेपछि एकाकएक चर्चामा आएका एन्फा कास्की जिल्ला अध्यक्ष मिलन गुरुङमाथि पनि पक्राउ पुर्जी जारी भएको छ ।

प्रदेशसभा सदस्य मनाङेले आफूलाई मुक्का हानेको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी गरेका गुरुङका विषयमा पनि अन्य व्यक्तिले ठगी तथा अभद्र व्यवहारको उजुरी गरेको हो। उनीबिरुद्ध पक्राउपुर्जी जारी भएको जिल्ला प्रहरीका कार्यलय प्रमुख एसपी दानबहादुर कार्कीले पुष्टि गरेका छन् ।

एन्फा अध्यक्ष गुरुङको उजुरीपछि प्रदेशसभा सदस्य मनाङेलाई हिजो (बिहिबार) प्रहरीबाट बच्नको लागि लेकसाइडस्थित नौ नम्बर स्ट्रीटको होटेल प्याराडाईज इनमा पुगेर कोठा नम्बर २०४ मा बसेका बेला पक्राउ गरेको थियो ।

एन्फा अध्यक्ष गुरुङमाथि पनि ठगी तथा अभद्र व्यवहारको उजुरी परेको बताईन्छ । उनले पोखरामा एन्फाको अध्यक्ष भएकै कारण विभिन्न व्यक्तिलाई अनाहकमा धम्काउने गरेको भन्दै प्रहरीकहाँ उजुरी परेको र उनी विरुद्ध पनि जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको बताईन्छ ।

मनाङेलाई २४ घण्टाभित्र प्रहरीले पक्रेको देखेरे आफू पनि पक्राउ पर्ने डरले गुरुङ फरार भएका छन् । अहिले गुरुङको पनि खोजी भईरहेको प्रह्रीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्