हास्य सम्राट भैरव अर्यालको सालिक व्यवस्थित गर्न माग



काठमाडौं : हास्यव्यङ्ग्यकार तथा यशस्वी साधक भैरव अर्यालको जोरपाटी चोकमा रहेको सालिक र उद्यान सडक बिस्तार गर्दा भत्काएर माटोले पुरिएकामा भैरव पुरस्कार गुठीले आपत्ति जनाएको छ ।

विसं २०४६ मा स्थापना भएको गुठीकै अग्रसरतामा तत्कालीन जोरपाटी गाउँ विकास समितिको सहयोगमा जोरपाटी चोकको खाली जग्गामा उद्यान र सालिक निर्माण गरिएको थियो । गाउँ परिषद्को निर्णयअनुसार बनाइएको संरचना भत्काउँदा सालिकमा समेत असर गरेकाले त्यसको संरक्षणका लागि बिहीबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई ध्यानाकर्षण गराइएको गुठीका सचिव वसन्त रिजालले जानकारी दिए।

तत्कालीन गाविसले बगैँचामा मालीको समेत व्यवस्था गरेको थियो । त्यो व्यवस्थासमेत हटाइँदा बगैँचा फस्टाउन सकेको छैन । कङ्क्रिटको जङ्गलले भरिएको जोरपाटीको बीचमा रहेको बगैँचाले वातावरणीय सन्तुलनमा सहयोग गर्ने भए पनि यसको संरक्षणमा नगरपालिकाको ध्यान जान नसकेको गुठीले जनाएको छ । गुठीको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै नगर प्रमुख चालिसेले बगैँचा र सालिक संरक्षणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।

नगरपालिकाले गुठीलाई संरक्षणको जिम्मेवारी दिए आफ्नै खर्चमा समेत काम गर्न तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । अर्यालको स्मृतिलाई चिरकालसम्म जीवन्त राख्न र भावी पुस्तालाई उत्साहको अजस्र स्रोतका रुपमा स्थापित गर्न पनि उहाँको सालिकलाई नमूनाका रुपमा दिगो बनाइराख्नुपर्ने गुठीको माग छ । गुठीले अर्यालले लेख्नुभएका पुस्तकको प्रकाशन, हास्यव्यङ्ग्य क्षेत्रमा कलम चलाउने साहित्यकारलाई सम्मानलगायत साहित्यिक गतिविधि गर्दै आएको छ । रासस

प्रतिक्रिया दिनुहोस्