राष्ट्रपतिका सल्लाहाकारले राजिनामा दिदा शितल निवासमा खैलाबैला



काठमाडौं : राष्ट्रिपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहाकार सुशील प्याकरेलले राजिनामा दिएपछि शितल निवासमा खैलाबैला मच्चिएको छ । आज राष्ट्रपति भण्डारीलाई सम्बोधन गर्दै प्याकुेरेलले राजिनामा पत्र बुझाएका थिए ।

मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। त्यसयता केही समय काम गरेपछि उनले असन्तुष्टि जाहेर गर्दै आएका थिए ।


प्याकुरेलले राजिनामा दिदै भनेका छन्–संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु’ ।

राजिनामा पत्रमा उनले संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्नेमा जोड दिएका छन् ।

लोकतान्त्रिक आन्दोलनका दौरानमा आफूले औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो भन्ने सिकेको भन्दै उनले भनेका छन्, ‘हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनुपर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्छ ।’

प्रतिक्रिया दिनुहोस्