झिटीझाम्टा कस्दै समाज कल्याण परिषद्



काठमाडौँ: उपराष्ट्रपतिको कार्यालय र निजी आवासको प्रयोजनका लागि समाज कल्याण परिषद्ले आफनै भवन र जग्गा छोडेर त्यसलाई खाली गराउनतिर लागेको छ ।

परिषद्ले कार्यालयका सरसामान सार्नका लागि तयारी गरिरहेको परिषद्का कायममुकायम निर्देशक हरि तिवारीले बताए । ‘हामी अफिस सार्न भिटीझाम्टा कस्दै छौँ–सर्ने ठाउँ पनि तयारी भइरहेको छ’ –उनले भने । उनका अनुसार माघको १५ गतेभित्र परिषद् सरिसक्ने भएको छ ।

परिषद्को कार्यालय पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिको कार्यालयमा सर्ने र त्यहाँ नअटाएका शाखाहरु भृकुटी मण्डपमा रहेको परिषद्को आफ्नै कार्यालयमा सार्ने तयारी गरेको परिषद्ले जनाएको छ ।

परिषद्ले आफ्नो कार्यालय नबनेसम्मका लागि नियमित कार्यालय सञ्चालनका लागि अस्थायी रुपमा कार्यालयमा सार्न लागिएको परिषद्का कामु निर्देशक तिवारीले बताए । ‘कार्यालय सार्ने र नियमित कार्यालय सञ्चालन गर्ने काम आफ्नै कार्यालय भवन नबनुन्जेल अस्थायी रुपमा हुनेछ’, उनले भने– ‘हाम्रो भवन बनाउने कामको योजना बन्दै छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्