अन्ततः हार खाएर सहमतिमा आए देउवा



काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीभित्रका आन्तरिक विवाद समाधानका लागि लचिलो बनेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रवार करिब पाँच घन्टा बसेको शीर्ष नेताहरूको बैठकमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति भएको छ ।

संस्थापन समूहले गत ११ पुसमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा महाधिवेशनका लागि एक दिन थपेर २०७७ फागुन ७–१० मा गर्ने सहमति भएको बताइएको छ ।

देउवाले ११ पुसको केन्द्रीय समिति बैठकमार्फत पार्टीको १४औं महाधिवेशनको मिति तोक्नेसहित बहुमतबाट विधानका केही धारासमेत निलम्बनको निर्णय गरेका थिए । सो निर्णयलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निरन्तर असन्तुष्ट रहँदै आएका थिए ।

कार्यतालिकालाई पदाधिकारी बैठकले टुंग्याउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने निर्णय बैठकले गरेको छ । त्यस्तै असन्तुष्ट पक्षले गर्दै आएको क्रियाशिल सदस्य छानवीन समिति पनि गठन गर्ने सहमति बैठकमा भएको छ ।

बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ । केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण प्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको कार्यकाल बहुमतबाट एक वर्ष थप गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विवाद चर्किएको थियो ।

२६ मंसिरबाट सुरु केन्द्रीय समिति बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएपछि संस्थापन समूहले गत ११ पुसमा केन्द्रीय समितिको कार्यकाल एक वर्ष थप गर्ने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर कांग्रेसभित्रको संस्थापनबाहेकका नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले सो किसिमको निर्णयले पार्टीलाई दुर्घटनातर्फ लैजाने भन्दै असन्तुष्ट रहँदै आएका थिए । यस्तै, विधानमा व्यवस्था भएको २८ विभागलाई नाघेर संस्थापन समूहले ४७ विभागको प्रस्ताव स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्