के हो हिप्पीहरूले प्रेम ? 



काठमाडाैं : काठमाडौंमा हिप्पीका दुईवटा केन्द्र थिए, झोंछे र स्वयम्भू । स्वयम्भू बुद्धसित जोडिएको भएर उनीहरूमा त्यसप्रति विशेष आकर्षण थियो । ठमेल त्यसवेला काँडाघारी थियो, सहरबाहिरको काँठजस्तो देखिन्थ्यो । भर्खरै साहित्य लेख्न सिक्दाखेरी नै म आफ्नो नाम पछाडि ‘हिप्पी’ जोड्थेँ । नयाँ सन्देश साप्ताहिकमा नारायण ढकाल ‘हिप्पी’का नामले कविता छापेको छु ।

म अत्यधिक बन्द समाजमा हुर्किएँ । ब्राह्मण परिवारिक पृष्ठभूमि कठोर थियो । समाजमा चर्को असमानता थियो । गाउँबाट सहर पढ्न आएपछि बाहिरी संसारका नयाँ ज्ञान र मूल्यहरू देखेँ । सहरमा सिकेका नयाँ मूल्यहरूले मलाई सामाजिक विभेदमाथि प्रश्न गर्न सिकाए । पञ्चायत बेठीक छ भन्ने पनि मैले कलेज पढ्न काठमाडौं आएपछि थाहा पाएँ । 

सामाजिक र राजनीतिक कारणले समाजमा बेचैनी र छटपटी थियो । यही पृष्ठभूमिमा म हिप्पीहरूको संगतमा पुगेँ । झोंछेका होटेलमा मेरा एकजना गाउँले दूध बेच्थे । उनीसँगै दूधको पैसा उठाउन जाँदा मेरो भेट हिप्पीहरूसँग भएको थियो । उनीहरू संसार अशान्त छ भन्थे । परिवार व्यवस्था कृत्रिम हो र यसले मान्छेलाई अनावश्यक रूपमा बाँधेको छ भन्थे । हामी युद्धविरोधी हौँ भन्थे । विवाह पनि कृत्रिम हो, हामी त प्रेमका पक्षमा छौँ भन्थे । म धेरै बुझ्दिनथेँ । ठिकै हो जस्तो लाग्थ्यो । 

गाउँमा हुनेखाने परिवारकै भए पनि सहरमा म सीमान्तकृत नै थिएँ । गाउँभन्दा सहर बिकराल र डरलाग्दो थियो । सहरका मान्छेहरू निकै अघि बढेका छन् र आफू पछि छु भन्ने मलाई पथ्र्यो । उनीहरू गाउँलाई हेप्थे । सहरको यस्तो पृष्ठभूमिले पनि मलाई हिप्पीहरूको नजिक पु¥यायो । पञ्चायतले मध्ययुगीन अन्यायी व्यवस्थालाई बचाउन खोजेको छ भन्ने चेतना विकास हुँदै थियो । व्यवस्थाले कुण्ठित बनाएको समाजमा हुर्किएकाले हिप्पीहरूको स्वतन्त्रताले मलाई आकर्षित ग-यो ।

म ५–६ वर्ष हिप्पीहरूसँग हिँडेँ । घरै छाडेँ । चटक्कै छाडेकोचाहिँ हैन, वेलावेला जान्थेँ तर अधिकांश समय हिप्पीहरूसँगै बित्थ्यो । उनीहरू लामोलामो कपाल पाल्थे । हिप्पीहरूभित्र ‘सियरिङ’ को संस्कृति थियो । उनीहरू असाध्यै आत्मीय र सरल थिए । हुलमा मिसिएपछि उनीहरूले चिनजानविनै आत्मीयताका साथ समूहमा प्रवेश गराउँथे । धेरै बुद्धिले सुल्झिएका मान्छे थिएनन् उनीहरू । निराशाका कुरा पनि गर्थे । समाज, परिवार र राज्य खराब छ, उनीहरूले हामीलाई चाहेको बाटो हिँड्न दिएनन् भन्ने गुनासो गर्थे । बुद्धप्रति उनीहरूको अद्भूत आकर्षण थियो । हिप्पीहरू नेपाल आउनुको कारण नै बुद्ध थिए, उनीहरू बुद्ध खोज्दै यहाँ आए । बौद्ध दर्शनका कतिपय शब्द उनीहरूले लिएर गए । जस्तै :  निर्वाणा । 

 हिप्पीहरूले प्रेमको नयाँ संसार देखाए 

हाम्रो समाज त्यसवेला असाध्यै रूढ थियो । युवायुवतीलाई प्रेम गर्न वर्जित थियो । कसैले प्रेम गरिहाल्यो भने पनि सहज थिएन । टोलभरिका केटा मिलेर प्रेमजोडीलाई धम्क्याउने र पिट्ने गर्थे । प्रेम गरेकै निहुँमा मेरो एकजना साथीले नराम्ररी पिटाइ खायो । उनीहरू साँझपख थापाथली घाटतर्फ घुम्न गएछन् । केटाहरू मिलेर दुईटैलाई हातपात गरे । लखेटे । त्यसवेलाको समाज जंगली भन्दा फरक नपर्ने थियो । प्रेमलाई वर्जित गर्थे तर एक्लै बाटो हिँडिरहेकी युवतीलाई कष्ट दिन आनन्द मान्थे । हिँडिरहेकी युवतीको चुल्ठो तान्दिन्थे । समूहमै हिँडेका केटीहरूलाई केटाहरूको समूह नै मिलेर दुःख दिन्थ्यो । दुःख दिने मात्र होइन, देख्नेहरू पनि आनन्दित हुन्थे, अट्टहास गर्थे । 

त्यसवेलाको बर्बर समाजमा हिप्पीहरूले समानताको सन्देश दिए । हिप्पीहरूमाझ महिलाको इज्जत थियो । महिला र पुरुषले बराबरीको स्पेसमा प्रेम गरेको त्यहीँ देखियो । एउटै युवतीले दुई–चारजनासँग प्रेम गर्नुलाई हिप्पीहरूको समाजमा नराम्रो मानिन्नथ्यो । हाम्रो समाजमा औपचारिकतामा चलेका परिवार व्यवस्थामाथि उनीहरूले प्रश्न उठाए ।

उनीहरूले युद्धलाई घोर घृणा गरे । हाम्रो समाजमा प्रेम, सद्भाव, भाइचारा, बहिनीचाराको नयाँ संसार देखाइदिए । हिप्पीहरूले ल्याएका गीत रेस्टुरेन्टमा बज्न थाले, यहाँका युवाहरूको ध्यान त्यता तानिन थाल्यो । होस्टलमा युवाहरूले बिटल्सका गीत सुन्न थाले । ती मान्छेलाई बदल्ने गीत थिए । हिप्पी आन्दोलनले एउटा अग्रगामी पुस्तालाई प्रभावित ग-यो । नारायण ढकाल / नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्