मानव–चितुवा द्वन्द्व: ६ वर्षमा २३ जना मारिए



बैतडी: सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक सुरु भयो। चितुवाले मानवबस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले। त्यतिबेला चितुवाले विशालपुर र शर्मालीमा दुई जनाको ज्यान लियो।

मानव–चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाको ज्यान गुमाइसकेको छ भने १२ जना घाइते छन्। एक वर्षयता चितुवा आक्रमणबाट कसैले ज्यान नगुमाए पनि दुई जना भने घाइते भएका छन्। चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनेमा अधिकांश बालबालिका छन्। प्रहरीको तथ्यांकअनुसार हालसम्म मारिएका २३ मध्ये १६ जना बालबालिका छन्।

चितुवा आतंक रोक्न प्रशासन, वन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी गर्दै आएका छन्। स्थानीयले पनि आफ्नै ढंगले प्रयास गर्दै आएका छन्। तर चितुवा आक्रमण रोकिएको छैन। यसबीचमा बर्सेनि चितुवा मारिने क्रम पनि बढ्न थालेको छ। गत साता बैतडीको सिगास संरक्षित वन क्षेत्रनजिकै सिकारीले थापेको पासोमा परेर एउटा चितुवा मारियो। त्यसको एक दिनअघि मात्रै बैतडीको तल्लो स्वराडसँग सीमा जोडिएको डडेल्धुरामा पनि एउटा चितुवा मारिएको थियो। भदौमा पाटन नगरपालिका–५ र पञ्चेश्वर गाउँपालिका–६ मा एकएकवटा चितुवा मृत अवस्थामा फेला परे।

साउनमा मेलौली नगरपालिका–२ सलेनामा दुम्सीका लागि थापेको पासोमा परेको वयस्क पोथी चितुवालाई चार दिनपछि उद्धार गरेर बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइएको थियो। बँदेललगायत जंगली जनावर मार्न राखिएको पासोमा चितुवा पर्ने गरेका हुन्।

स्थानीयले थापेको पासोमा परेर आर्थिक वर्ष २०७४–७५ मा मात्रै पाँच चितुवाको मृत्यु भएको छ। साउनयता तीन चितुवाको मृत्यु भएको वन डिभिजन कार्यालयका सूचना अधिकारी रामप्रसाद चौधरीले बताए। मानव–चितुवा द्वन्द्व सुरु भएपछि एक दर्जनभन्दा बढी चितुवा मारिसकिएका नागरिकमा खवर छ।

प्रतिक्रिया दिनुहोस्