आज तामाङ समुदायको नयाँ वर्ष ‘सोनाम ल्होसार’ मनाइँदै



काठमाडौं : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि सुँगुर वर्ष पूरा गरी ‘मुसा’ वर्षमा प्रवेश हुन्छ । आजदेखि २८५५ औं वर्ष पूरा भएर २८५६ औं वर्ष सुरु हुन्छ । ल्होसारमा ‘ल्हो’ को अर्थ वर्ष वा साल अथवा सम्वत् हो भने ‘छार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसरी ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको हो ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता शेर्पाले बताए । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिए हुन्छ ।

तामाङहरु समुदायले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । आजको दिन छोरी-चेलीहरूलाई बोलाएर टिका लगाइदिने चलन छ ।

सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्