“मेक्सिको पर्खाल” कि ट्रम्पको चुनौतीको पहाड ?



काठमाडौं: यतिबेला मेक्सिकोको सीमा क्षेत्रमा अमेरिकाले निर्माण गर्ने भनेको पर्खालको विषय अमेरिकी राजनीतिमा ठूलो बहसको विषय बनेको छ । एक हिसाबले भन्दा अमेरिकामा सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको पर्खालले सिंगो देशलाई ठप्प पारेको अवस्था छ । सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पले एजेन्डा बनाएको आप्रवासन नियन्त्रण र मेक्सिकोको सिमानामा पर्खाल निर्माण दुवै विषय ट्रम्पका लागि टाउको दुखाइको विषय बनेका छन् ।

गत महिना मात्रै अमेरिकी सिमानामा आएका ग्वाटेमालाका दुई बालबालिकाको अमेरिकी हिरासतमा निधन भएपछि ट्रम्पको कडा आप्रवासी नीतिको चर्को आलोचना भइरहेको छ । मध्य अमेरिकी देशबाट अमेरिका प्रवेश गर्नका लागि मेक्सिको र अमेरिकाको सीमा क्षेत्रमा हजारौं आप्रवासी पुगेका छन् । जसले गर्दा त्यस क्षेत्रमा एक प्रकारले मानवीय संकटको अवस्था नै देखा परेको छ । अमेरिका प्रवेश गर्न लागेका विभिन्न ४१ देशका १३३ जना अमेरिकी हिरासतमा रहेका छन् ।

अमेरिका प्रवेश गर्न खोज्दा अमेरिकी हिरासतमा परेकामा दक्षिण एसियाली राष्ट्र भारत र पाकिस्तानका नागरिकसमेत छन् । ठूलो संख्या भने मध्य अमेरिकी देशको हो । जहाँ देशभित्र उत्पन्न गरिबी र हिंसाका कारण उनीहरू देश छाडेर कठिन यात्रा पार गर्दै अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा पुगेर बसेका छन् । यद्यपि, उनीहरू अमेरिका प्रवेश गर्न पाएका छैनन् ।

यही खुला सिमानाका कारण मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउने योजना राष्ट्रपति ट्रम्पले अघि सारेका हुन् । राष्ट्रपतीय निर्वाचनमा आफूले नै अघि सारेको पर्खाल निर्माणको योजना कार्यान्वयन गर्न खोज्दा यतिबेला अमेरिकामा भने समस्या सिर्जना भएको छ । ट्रम्पले पर्खाल निर्माणको योजना अघि सारिरहँदा अमेरिकी कंग्रेसका दुवै सदन प्रतिनिधिसभा र सिनेटमा रिपब्लिकन पार्टीको बहुमत थियो । तर, गत नोभेम्बरमा भएको मध्यावधि निर्वाचनबाट रिपब्लिकन पार्टीले तल्लो सदनमा रहेको पकड गुमाएको छ र डेमोक्रेटिक पार्टी ४३५ मध्ये २३५ स्थानमा जित हासिल गरेर तल्लो सदनमा बहुमतमा छ ।

सिनेटमा रिपब्लिकन पार्टीको झिनो बहुमत छ । सिनेटका सय सिटमध्ये रिपब्लिकन ५३ र डेमोक्रेटिकको ४५ सिट छ भने दुई जना स्वतन्त्र सिनेटर छन् । ट्रम्पले मेक्सिकोसँगको सिमानामा लगाउने पर्खालका लागि ५.६ अरब अमेरिकी डलर माग गरेका छन् । जसलाई संसद्ले स्वीकृति नदिएपछि उनले बजेटमा हस्ताक्षर गरेका छैनन् ।

जसले गर्दा २२ डिसेम्बर २०१८ देखि अमेरिकी संघीय सरकारका कार्यालयहरू आंशिक या पूर्ण रूपमा बन्दको अवस्थामा छन् । ट्रम्प जस्तोसुकै अवस्था आए पनि पर्खाललाई बजेट नदिएसम्म बजेटमा हस्ताक्षर नगर्ने अडानमा छन् भने डेमोक्रेटिक पार्टी सुरुदेखि नै पर्खाल निर्माणको विपक्षमा उभिँदै आएको छ । जसले अमेरिकी आन्तरिक राजनीतिमा गत्यावरोध सिर्जना गरिदिएको छ ।

मेक्सिकोसँगको सिमाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेक्सिकोसँगको सिमानामा अभेद्य, लामो र सुन्दर पर्खाल बनाउन चाहन्छन् । तर, पर्खाल कति लामो, कति सुन्दर र कति मजबुत हुन्छ भन्ने प्रश्नको उत्तर उनी विश्वासिलो तरिकाले दिन सकेका छैनन् । अमेरिका र मेक्सिकोको सीमा करिब ३ हजार १ सय किलोमिटर अर्थात् १ हजार ९ सय माइल लामो छ ।

जसमा खाली मैदान, धुलोले भरिएको मरुभूमि र हरियाली इलाका र रियो ग्रान्डको कठोर वातावरण भएको क्षेत्र यही सिमानामा पर्छ । अहिले करिब ६५० माइलमा पर्खाल छ । ट्रम्पले लगाउने नयाँ पर्खाल करिब १ हजार माइलको हुनेछ । बाँकी रहेको क्षेत्रमा जुन प्रकारको प्राकृतिक र भौगोलिक अवस्था छ, त्यसले नै पर्खालको काम गर्नेछ ।

कति लाग्छ लगानी ?

‘नेसनल मेमो’ मा छापिएको एउटा लेखमा न्युयोर्कका इन्जिनियर अली एफ रुजकानले यो पर्खाल निर्माण गर्नका लागि ३३ करोड ९० लाख घनफिट कंक्रिट लाग्ने अनुमान गरेका छन् । यो हुवर ड्याम बनाउन लागेको कंक्रिटभन्दा तीन गुणा बढी हो । ट्रम्प आफैंले यो पर्खाल बनाउन १० देखि १२ अरब डलर लाग्ने बताएका छन् ।

तर, इन्जिनियरहरूले यो भन्दा बढी लागत लाग्ने अनुमान गरेका छन् । यो पर्खालमा खर्च बढ्ने अर्को कारण के हो भने पहाडी, दुर्गम र सुदूर इलाका भएर जाने यो पर्खालमा कतिपय निजी जग्गामा समेत बन्नेछ, जसलाई किन्नु वा जग्गाधनीलाई हर्जना तिर्नुपर्नेछ । वासिङ्टन पोस्टले यो पर्खाल बनाउन २५ अर्ब डलरसम्म लाग्न सक्ने अनुमान सार्वजनिक गरेको थियो । यसअघि ट्रम्प यो पर्खाल बनाउनका लागि मेक्सिकोले पैसा तिनुपर्ने तर्क गर्ने गर्थे । जसलाई मेक्सिकोले ठाडै अस्वीकार गरिदियो ।

पर्खाल बनाउन पैसा दिन मेक्सिकोलाई बाध्य पार्ने ट्रम्पसँग कुनै औजार थिएन । त्यसैले, उनले विभिन्न हत्कन्डाहरू प्रयोग गर्न खोजे । जसमा मेक्सिकोबाट अमेरिमा गएर काम गरिरहेका प्रवासीलाई आफ्नो देशमा पैसा पठाउन रोक लगाउने र त्यसका लागि यूएस प्याट्रिएट एक्टको आतंकवाद निरोधक उपायको सहारा लिने बताएका थिए । त्यसमा पनि सफलता हात परेन । उनले अमेरिका जान भिसा आवेदन गर्दा लाग्ने कर बढाउने योजना पनि बनाएका थिए । ट्रम्प मेक्सिकोस“गको सिमानामा अभेद्य, लामो र सुन्दर पर्खाल बनाउन चाहन्छन् । तर, पर्खाल कति लामो, कति सुन्दर र कति मजबुत हुन्छ भन्ने प्रश्नको उत्तर उनी आफैंले विश्वासिलो तरिकाले दिन सकेका छैनन् । 

मानवीय मुद्दा मात्रै होइन पर्खाल

अमेरिका र मेक्सिकोबीच आवतजावतको कुरा एउटा मानवीय मुद्दा मात्रै होइन । पर्खाल बनाउँदा त्यस क्षेत्रको पर्यावरणमा कस्तो असर पर्छ भन्ने मुद्दा पनि उत्तिकै महत्वपूर्ण छ । सीमा क्षेत्रमा पशुपक्षी बिना रोकटोक आवतजावत गर्छन् । ठूलो संख्यामा पशुपंक्षी प्रजननका लागि सीमा पार गर्ने वर्यावरणविद्को भनाइ छ ।

ट्रम्पको चेतावनी र कामबन्दी

राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सिमानामा बढ्दो मानवीय र सुरक्षा संकट रोक्नका लागि पर्खाल आवश्यक रहेको बताउँदै आएका छन् । उनले बर्खालका लागि बजेट नदिए संकटकालको घोषणा गर्ने चेतावनी दिँदै आएका छन् । यद्यपि हालसम्म उनले यो कदम चालिसकेका भने छैनन् । उनको यो चेतावनी सरकारलाई पर्खाल बनाउनका लागि बजेट उपलब्ध गराउन विपक्षीमाथि दबाब बनाउने रणनीतिका रूपमा हेरिएको छ । यद्यपि डेमोक्रेटले यो पर्खाल निर्माणको विषयको विरोध गर्दै आएको छ । ट्रम्पले भने सरकारको आंशिक कामबन्दीका लागि तयार रहेको बताएका छन् ।  केशरमणि कटुवाल / राजधानीबाट

प्रतिक्रिया दिनुहोस्