सरस्वतीका मूर्ति बनाउन भ्याईनभ्याई



इनरुवा : बिहानै सुनसरी सदरमुकाम इनरुवाका मूर्तिकार कोइ माटो मुछ्न त कोइ पराल बाध्न कोइ माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने काममा व्यस्त बनेका हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ सरस्वती मूर्तिका अगाडि नै सबैलाई माटोबाट निर्माण गरिएको सरस्वतीको कलात्मक मूर्ति सहजरुपमा पु-याउने ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायतका स्थानमा रहेका मूर्तिकार स्थानीयको सरस्वती पुजालाई सहज बनाउने उद्देश्यले माटोका कलात्मक सरस्वतीका मूर्ति बनाउने कार्यमा व्यस्त बनेका इनरुवा नगरपालिका–४ का मूर्तिकार मनोज मेहताले बताए । जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय, शैक्षिक प्रतिष्ठान र निजी विद्यालयका सञ्चालकले समेत सरस्वती मूर्तिको पुजा गर्ने भएकाले मूर्तिको माग अत्याधिक बढेपछि आफुहरु माटोका कलात्मक मूर्ति बनाउन व्यस्त बनेको मूर्तिकार मेहताले बताए ।

विद्यार्थी प्रत्येक घरमा रहने भएकाले सरस्वती मूर्तिका लागि गाउँदेखि शहरसम्म सर्वसाधारणसहित शैक्षिक प्रतिष्ठान सञ्चालकले सरस्वती मूर्ति नै खोज्ने भएकाले अगाडिदेखि नै मूर्ति बनाउन लागिपरेको मेहताको भनाइ छ । एक मूर्ति बनाउन तीन दिनदेखि पाँच दिनसम्म लाग्ने गरेको उनले बताए । एउटा मूर्ति बनाउन रु ५०० देखि रु एक हजारसम्म लाग्ने गरेको र रु ५०० देखि रु १० हजारसम्ममा एउटा मूर्ति विक्री हुने गरेको मुर्तिकार विनोद मेहताले बताए । मूर्तिबाट मात्र एक याममा रु ५० देखि रु ६० हजार आम्दनी गर्दै आएको मूर्तिकारको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्