‘कर्मचारीले छोराछोरी सरकारी स्कुलमा भर्ना गर्नुुपर्छ’



डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वायरुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन । सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्नलागेको निजामती कर्मचारी विद्यालयको आज शिलान्यास गर्दै उनले सरकारी जागिर खाएका कर्मचारीले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको बताए ।

त्यस्तै उनले सुदूरपश्चिम भरीमा निजी स्कुलमा छोराछोरी पढाउने उच्च तहका कर्मचारीको तत्थ्याङ्क सङ्कलनको तयारीसमेत भइरहेको जानकारी गराए। मुख्यमन्त्री भट्टले छाउपडी प्रथाको अन्त्य गर्न जरुरी भएको र सो प्रथा हटाउन सबैले लाग्नुपर्नेमा जोड दिए । उनले भने, “छाउ बार्ने र बार्न लगाउनेलाई सामुहिक वहिस्कार गर्नुपर्छ, कु–सस्कार मान्नेलाई सामुहिक वहिस्कार गरौँ ।”

उनले प्रदेश सरकारले जनताका आवश्यकता सम्वोधन हुने गरि काम गरिरहेको दाबीसमेत गरे । सङ्घीयताले विकासको ढोका खोलेकोले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए । दुई तले छ कोठाको निर्माण हुनलागेको उक्त निजामती स्कुलको लागत रकम रु दुई करोड ३९ लाख ३३९.९० रहेको र निर्माणको समयावधी आगामी २०७८ साल पुस मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएको निर्माणको जिम्मा पाएका केठेदार नरेश शाहले बताए ।

उक्त स्कुलका लागि १०० रोपनी जमिन खरिद गरिएको र रु ७५ देखि ८० करोडको लगानीमा क्रमिकरुपमा आगामी वर्षमा पनि नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान र स्वीमङ पुललगायका संरचना निर्माण गरिने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्