उपत्यकामा विप्लवका कार्यकर्ताको चहलपहल बढ्दा गृहको यस्तो उर्दी



काठमाडौं : ललितपुरको गोदावरी नगरपालिकामा कार्यलय सहयोगीका रुपमा केही समय अघिसम्म कार्यरत राजकुमार परियार पछिल्लो समय ललितपुरका विभिन्न स्थानमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चन्दा उठाउने र संगठन विस्तारमा सकृय भएको पाएपछि आवश्यक निगरानीमा राख्न गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।

काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ र रसुवा समेटेर बनाएको विप्लव समूहको उपत्यका ब्युरो इन्चार्जमा चिरन पुन (हितमान) बन्नासाथ उपत्यकामा बम विस्फोट गराएर चर्चामा छ । बम विस्फोट गराएको विप्लव समूहले काठमाडौंमा चन्दा आतंक मच्चाएको छ ।

विशेषगरी ठूला –ठूला व्यापारी, सुपरमार्केट, ठूला–ठूला शिक्षण संस्थाका मालिक र घरजग्गा कारोबारीसँग चन्दा माग गरेको विप्लव समूहको शैलीबाट आजित बनेका छन्–व्यवसायीहरु ।

ललिता निवास काण्डका नाइके शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको र प्रधानमन्त्री निवास नजिकै बम राखेको प्रसंग सुनाउँदै विप्लव समूहका कार्यकर्ताले व्यवसायीहरुसँग मानसिक हिसाबले पनि त्रसित पार्दै चन्दा आतंक मच्चाएको बताइन्छ ।

तर, यस विषयमा व्यवसायीहरु विप्लव समूहको कसैलाई सूचना गरे सफाया गर्ने चेतावनीका कारण मुख खोल्न चाहदैनन् ।

द नेपाल टपसँग कुराकानीका क्रममा एक व्यवसायीले एकातिर सरकारी निकायको बढ्दो निगरानी र अर्कोतर्फ विप्लव समूहको चन्दा आतंकबाट हैरानी भएको बताउँदै व्यवसाय अगाडी बढाउने क्रममा निराशा पैदा भएको बताए । व्यवसायीहरुले हत्तपत्त सूचना नचुहाएपनि नेपाल प्रहरीले बम विस्फोट काण्डमा अनुसन्धान गर्दै जाँदा उपत्यकामा विप्लव समूहले चन्दा आतंक पनि मच्चाएको रहस्य पत्ता लागेको हो । पछिल्लो समय विप्लव समूहका कार्यकर्ताले होटल र रेष्टुरेन्ट क्षेत्रमा पनि पसेर चन्दा असुलीलाई तीव्रता दिएका छन् । त्यस्तै अहिले उपत्यकामा विप्लव समूहका कार्यकर्ताहरुको चहलपहल पनि बढेको बताइन्छ ।

विप्लव समूहको केही अघि बसेको केन्द्रीय बैठकले मंसिर, पुस र माघ महिनालाई संगठन विस्तार तथा अर्थ संकलनको अवधि भनेर निर्णय गरेको द नेपाल टपले त्यसबेला नै समाचार सार्वजनिक गरेको थियो । अहिले गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई विप्लव समूहको चन्दा आतंक र बढ्दो गतिविधि नियन्त्रण गर्न कडा निर्देशन दिएको छ । उपत्यकामै र त्योभन्दा पनि प्रधानमन्त्री निवास नजिकै विप्लव समूहले बम राखेपनि यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर चासो लिएपछि गृहमन्त्रालय नेतृत्व पनि तातेको बताइन्छ । विप्लव समूहको गतिविधिको निगरानीमा राष्ट्रिय अनुसन्धान विभागलाई पनि सकृय पारिएको श्रोतले बताएको छ ।

त्यसोत बम विस्फोटको विप्लव समूहले जिम्मेवारी लिएपनि प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री यस सम्बन्धि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताउँदै अपराधीको नजिक पुगेको दाबी गर्छन् । त्यस्तै विप्लव समूहकोे चन्दा आतंकका विषयमा व्यवसायीहरुले त्यस्तो सूचना दिएमा प्रहरीले आवश्यक प्रकृया अघि बढाउन सघाउ पुग्ने बताउँछन् ।

प्रहरीले भर्खर मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

प्रहरीले मध्यपुरठिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्