पहिले जमिनदार अहिले सुकम्बासी



मोरङ : सडकछेउ लहरै छाप्रा । नजिकै साना दुई बालक खाली खुट्टा खेलिरहेका । पुसको ठिहीमा उनीहरू गन्जी र कट्टुमा थिए । अभिभावक उनीहरूलाई नियालिरहेका थिए । एक छिनपछि जाडाले काम्दै दुवै बुबाका काखमा गएर बसे । 

जहदा गाउँपालिका ७ सितोङटोलस्थित सन्थाल समुदायको सुकुम्बासी बस्तीका अधिकांश बालबालिकाको शरीरमा चिसो थाम्ने कपडा देखिँदैन । स्थानीय शिवलाल टुडु पेटभर खानै नपुगेको अवस्थामा बच्चालाई न्यानो कपडा र चप्पल दिन नसकेको बताउँछन् । उनी सिजनमा कृषि क्षेत्रमा काम गर्छन् । अरू बेलाघर निर्माणका काममा मजदुरी गर्दैपरिवार धान्छन् ।

‘आम्दानीको स्रोत नै मजदुरी हो,’ उनले भने, ‘हामी बुढाबुढी यही काम गरिरहेका छौं ।’ उनीहरूको आफ्नो खेतबारी छैन ।गरिबी र अशिक्षाबीच जीवन निर्वाह गर्दै आएका सन्थालले पछिल्लो समय छोराछोरीलाई विद्यालय पठाउन थालेको शिवलालले बताए । ‘छोराछोरीलाई विद्यालय पठाए पनि आर्थिक अभावमा बीचमै पढाइ छाड्न बाध्य हुने अवस्था छ,’ उनले भने, ‘भोको पेटलाई शिक्षा होइन, खाना चाहिन्छ, त्यसैले ८/९ कक्षामा गएपछि पढाइ छाडेर मजदुरी नगरी चुलो बल्दैन ।’

४५ वर्षीय सपल मरण्डी पनि सुकुम्बासी परिवारका हुन् । गाउँमा आफूहरूमाथि छुवाछूत गरिएकामा उनको गुनासो छ । ‘हाम्रा पुर्खा यहाँ जंगल फाँडेर बसेका थिए,’ उनले भने, ‘पहिले हामी नै यहाँका जमिनदार थियौं ।’ पढाइलेखाइमा ध्यान नदिएका सन्थाल समुदायलाई जान्नेबुझ्नेले सबै जग्गाजमिन हडपेर सुकुम्बासी बनाइदिएको उनले बताए । उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरी सन्तोषी बैरिया माविमा १० कक्षा पढेर छाडेकी छन् । कान्छी छोरी कविता कक्षा ८ र छोरा अविनाश ६ मा पढदै छन् ।

‘घरमा अन्न नभएपछि म पनि पढाइ छोडेर गाउँकै किसानका खेतमा मजदुरी गर्न जान्छु,’ कविताले भनिन्, ‘भोको पेट पढ्न पनि नसकिने भएकाले हाम्रा लागि मजदुरीमा जानुको विकल्प छैन ।’ उनको डाक्टर बनेर समाजमासेवा गर्ने लक्ष्य छ । ‘पढेर डाक्टर बनेर गाउँका दु:खीको सेवा गर्ने लक्ष्य छ तर के गर्नु घरमा खानै पुग्दैन, कुन बेला पढाइ रोकिन्छ भन्ने डर छ,’ उनले भनिन् ।

विराटनगरस्थित निजी क्याम्पसमा बीएड पढिरहेकी बिबयानी मरण्डीले सन्थाल समुदाय गरिबी, कुसंस्कार र चेतना अभावले पछि परेको बताइन् । ‘गरिबीले बालबालिका पढ्न सक्ने अवस्था पनि छैन,’ उनले भनिन्, ‘आमाबुबा मजदुरीमा गएका बेला साना नानी हेर्ने र गाईबस्तु चराउन जानैपर्ने अवस्था छ ।’

बिबयानीले अहिले पनि यहाँका महिला घरमै सुत्केरी हुने गरेको बताइन् । यसले गर्दा उनीहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । ‘महिलामा आङ खस्ने समस्या छ,’ उनले भनिन्, ‘गर्भावस्थामा पनि मजदुरी गर्न जानैपर्ने बाध्यताले अरू पनि स्वास्थ्य समस्या देखिएका छन् ।’दुर्गा मावि मझारेका शिक्षक सूर्यनारायण हास्ताले अधिकांश सन्थाल सुकुम्बासी रहेको बताए । ‘सन्थाल समुदायको सिकार खेल्ने र खेती गर्ने पुख्र्यौली पेसा अहिले मजदुरीमा परिणत भएको छ,’ उनले भने, ‘गरिबीबाट माथि उठ्न खोज्दै गरेका उनीहरूलाई सघाउने हातको आवश्यकता छ ।’

दुर्गा माविमा कक्षा १२ सम्म पठनपाठन हुने गरे पनि सन्थाल समुदायका विद्यार्थी अत्यन्तै न्यून रहेको हास्ताले बताए । ‘कक्षा ११ र १२ मा रहेका २ सय ५० विद्यार्थीमध्ये कक्षा ११ मा ३ छात्रासहित ८ जना र कक्षा १२ मा २ छात्रासहित ५ जना गरी १३ जना मात्रै सन्थाल छन्,’ उनले भने, ‘खान पुग्नेले मात्र बालबालिकालाई उच्च शिक्षा पढाउने गरेका छन् ।’ सन्थाल बालबालिका कक्षा ८ पुगेपछि पढाइ छाडेर मजदुरी गर्न जाने अवस्थामा परिवर्तन ल्याउनुपर्ने उनले बताए । ‘सांस्कृतिक पर्वहरूमा रातभर नाच्ने, सानैदेखि जाँड, रक्सी खाने कुसंस्कारले पनि पढाइ बिग्रिने गरेको छ,’ उनले भने ।

हास्ताका अनुसार सन्थालको अवस्था पञ्चायतकालमा राम्रो थियो । प्रजातन्त्रपछि बसाइँसराइको क्रम बढेसँगै हुनेखाने सन्थाल परिवार सुकुम्बासीमा परिणत भएका छन् । पञ्चायतमा सन्थाल समुदायको बसोबास रहेको भाथिगछ, मझारे र सिसबनी जहदा ग्रामपञ्चायतमा उनीहरूकै नेतृत्व हुन्थ्यो ।

‘स्थानीय तहको निर्वाचनमा सबभन्दा ठूलो पद वडाध्यक्षमा मात्रै सन्थाल समुदायको प्रतिनिधित्व भएको छ,’ उनले भने, ‘जहदा ७ को वडाध्यक्षमा भगबानलाल बेसरा निर्वाचित भएका हुन् ।’ सन्थालहरू अल्पसंख्यक आदिवासी भएर पनि अहिलेसम्म राज्यबाट सेवासुविधा नपाएको हास्ताले बताए । ‘सरकारी जागिरमा मसहित दुई जना प्राथमिक तहका शिक्षक र २ जना कृषि सामग्री संस्थान र एकजना विद्युत् प्राधिकरणमा जागिरे छन्,’ उनले भने, ‘सन्थाल समुदाय अहिले पनि राज्यको पहुँचभन्दा टाढा छ ।’

वडाध्यक्ष बेसराले जहदा गाउँपालिकाका सन्थाल समुदायको उत्थानका लागि भूमिका खेल्दै आएको बताए । ‘सन्थाल समुदायको परम्परागत संस्कार र संस्कृति अहिलेको कानुनविपरीत छ,’ उनले भने, ‘त्यसमा परिवर्तन ल्याउन समुदायका अगुवालाई गाउँपालिकाबाटै तालिम दिने काम गराएको छु ।’ सन्थाल समुदायलाई आत्मनिर्भर बनाउने नीतिगत व्यवस्थाका लागि प्रयत्न भइरहेको बेसराले सुनाए ।

उनका अनुसार सन्थाल समुदायको सहोराय पर्वका अवसरमा जनवरी ९ तारेखका दिन गाउँपालिकामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाइएको बताए । गाउँपालिका अध्यक्ष कैलाश मण्डलले सन्थाल समुदायका लागि कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार सन्थाललाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने योजना तथा कार्यक्रम ल्याउन नीतिगत व्यवस्था गरिँदै छ । २०६८ को जनगणनाअनुसार सन्थाल समुदायको जनसंख्या ५१ हजार ७ सय २० छ । जहदामा ६ हजार २ सय २४ जना रहेको कान्तिपुरमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्