जेब्राक्रसमै जोखिम



काठमाडौँ : सडकमा पहिलो हक कसको ? पैदलयात्रुको । संसारभर स्वीकृत मान्यता हो यो । नेपालका सडकमा भने पैदलयात्रु डराइडराइ हिँडेका र बाटो काटिरहेका भेटिन्छन् । राजधानीको बबरमहलको व्यस्त सडक पार गर्दै यात्रु । यात्रुलाई बाटो काट्न भनी तोकिएको यो स्थानमा सडकको आधा भागबाट मात्र जेब्राक्रस राखिएको छ । त्यो पनि मेटिन लागिसकेको छ । कतिपय सडकमा पर्याप्त जेब्राक्रस नहुँदा यात्रुलाई बाटो काट्ने ठाउँ पाउनै मुस्किल छ । 

पैदलयात्रुलाई बाटो काट्नैका लागि भनेर बनाइएका जेब्राक्रसिङमा समेत सवारी साधनले ठक्कर दिने र ज्यान लिने गरेको छ। पछिल्ला केही समयका घटना हेर्दा पैदलयात्रु जेब्रामै जोखिममा देखिन्छन्। सामाखुसी चोकमा पुस २३ सोमबार पैदलयात्रीको एउटा समूहलाई नै माइक्रोबसले ठक्कर दियो। बाटो काटिरहेकामध्ये ५५ वर्षीया सीता दाहालको मृत्यु भयो।

उनको टाउकोमा चोट लागेको अल नेपाल अस्पतालका आकस्मिक कक्षका चिकित्सक अनिल सुवेदीको भनाइ छ। अन्य चारमध्ये एक जनालाई ग्रान्डी लगियो र एक जना उपचारपछि डिस्चार्ज भइन्। दुई जना अझै अस्पतालमा छन्। सोमबार माइक्रोले हानेको समूहमा अल नेपाल अस्पतालमै ‘प्राक्टिकल’ गर्दै गरेकी १९ वर्षीया सपना राई पनि थिइन्।

उनका अनुसार सडकमा एउटा बस रोकिराखिएको थियो। निकै पछाडि एउटा माइक्रो थियो। ‘हात देखाएर बाटो काटदै थियौं। पर रहेको माइक्रोले बसलाई ओभरटेक गरेर हुत्तिँदै आएर हान्यो,’ उनले भनिन्, ‘त्यसपछि के भयो मलाई याद छैन। टाउकोमा चोट लागेर बेहोस थिएँ, आफैंले प्राक्टिकल गर्ने अस्पतालमा आँखा खुल्यो।’ उनी उपचारपछि डिस्चार्ज भइसकिन्।

अर्का घाइते सुशील अधिकारीले भने, ‘हानेर लडाएपछि मेरो खुट्टामाथि नै चढाएको हो कि के गरी चलायो मलाई याद छैन।’ घाइते दुई जना ५३ वर्षीय सुशील र ५० वर्षकी सरिता अधिकारी श्रीमान्–श्रीमती हुन्। सुशीलको खुट्टामा चोट लागेकाले सुन्निएको छ। डाक्टर सुवेदीका अनुसार उनको देब्रे कुर्कुच्चामा चोट लागेको छ। नसा तन्केकाले भर्ना गरिएको छ।

सरिता भने माइक्रोले हानेर ढलेपछि पनि चालकले आफूहरू माथि नै गाडी चढाउन खाजेको बताइन्। ‘लडेपछि जीउमाथि नै चढाउन खोजेको थियो। म पछाडि सरेँ, मेरो तिघ्रामाथिबाट माइक्रो गयो,’ उनले भनिन्, ‘ड्राइभरले जानीजानी मार्नै लागेको थियो।’ चिकित्सकले सरिताको अवस्था स्थिर भए पनि खतरामुक्त भने नरहेको बताए। उनको देब्रे साँप्राको हड्डी भाँच्चिएको छ। ‘पक्षघातको डर पनि छ। तिघ्राको मासु मर्न सक्छ। अहिले जोखिममुक्त भन्न मिल्दैन,’ डा. सुवेदीले भने।

अर्की घाइते लक्ष्मी सापकोटा ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा छिन्। कुरुवा बसेका उनका छोरा विशाल सापकोटाले भने, ‘बुधबार बिहानसम्म थोरै बोल्नुहुन्थ्यो, दिउँसोबाट बोल्न नसक्ने भएर भेन्टिलेटरमा राखिएको छ। बोल्न सक्ने बेला के भएको हो भनेर सोध्न सकेनौं।’ विशालका अनुसार लक्ष्मीको फोक्सोमा चोटका कारण श्वासप्रश्वासमा समस्या आइरहेको कान्तिपुरमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्