कोरोनाभाइरसको उपचारका लागि चीनले ६ दिनमा अस्पताल बनाउला?



काठमाडौं : चीनले कोरोनाभाइरस लागेका बिरामीको उपचारका लागि ६ दिनमा काम सक्ने गरी अस्पताल निर्माणको काम सुरु भएको छ। वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको हाे।

अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ। शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या हुनेछन्। चिनियाँ राज्य नियन्त्रित सञ्चारमाध्यमले प्रकाशित गरेको भिडिओ फुटेजमा २५,००० वर्ग मीटर क्षेत्रफल रहेको अस्पताल निर्माण क्षेत्रमा डिगरहरू देखाइएका छन्।

सन् २००३ मा सार्स भाइरस सङ्क्रमणका बेला बेइजिङमा यस्तै खालको अस्पताल बनाइएको थियो। त्यसैका आधारमा नयाँ अस्पताल बनाइने बताइएको छ।

‘यो सङ्क्रमणजन्य रोग लागेका मानिसलाई छुट्टै राखेर उपचारको प्रक्रिया अपनाइने र विभिन्न खाले सावधानी अपनाइने किसिमको अस्पताल हो’ हार्भर्ड मेडिकल स्कुलमा ग्लोबल हेल्थ एन्ड सोसल मेडिसिनकी लेक्चरर जोआन काउफम्यानले भनिन्।

चीनले ६ दिनमै कसरी अस्पताल निर्माण गर्न सक्छ?

सार्स उपचारपछि बेइजिङमा बनाइएको अस्पताल छोडेकी एक महिला काउन्सिल अन फरेन रिलेसन्समा वरिष्ठ सदस्य यानझोङ हुआङले भने, ‘चीनमा यस्ता किसिमका आयोजना एकदम छिटो सम्पन्न हुने गरेको रेकर्ड छ।’

उनले बेइजिङमा एउटा अस्पताल सात दिनमा सम्पन्न गरेको भन्दै अहिले सम्भवत त्यो रेकर्ड तोड्ने गरी छ दिनमा बनाउने प्रयत्न गर्न लागिएको हुनसक्ने बताए। बेइजिङको जस्तै यो अस्पताल पनि प्रिफ्याब वस्तुबाट बनाइनेछ।

‘निरङ्कुश मुलुकमा यसप्रकारको माथिबाट तल परिचालन गर्ने प्रकिया अपनाइन्छ। त्यसले गर्दा प्रशासनिक र आर्थिक झमेलाबाट पार पाइन्छ र सबै खाले स्रोत परिचालन गर्न पाइन्छ।’ हुआङले भने, समयमै योजना सम्पन्न गर्न देशका विभिन्न भू–भागबाट इन्जिनियरहरू ल्याइनेछन्।

‘चीनमा इन्जिनियरिङ कार्य राम्रो छ। त्यहाँ एकदम द्रुत गतिमा अग्ला भवन बनाइएको रेकर्ड पनि छ। यो पश्चिमाहरूका लागि अकल्पनीय छ। त्यो गर्न सकिन्छ,’ उनले भने। औषधिजन्य पदार्थ भने वुहानले अरू अस्पताल वा फ्याक्ट्रीबाट सजिलै ल्याउन सक्नेछ।

शुक्रवार द ग्लोबल टाइम्सले चिनियाँ सेनाका १५० जना स्वास्थ्यकर्मी वुहान आइपुगेको पुष्टि गरेको थियो। तर तिनले नयाँ अस्पतालमा काम गर्ने हुन् कि होइनन् भन्ने कुरा भने उसले पुष्टि गरेको छैन। बीबीसी

प्रतिक्रिया दिनुहोस्