पुल निर्माण अलपत्र



डोटी : जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनस्थित सेती नदीको पुल निर्माण तत्काल अगाडि बढाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएका छन ।

पुल निर्माण शुरु गरिएको लामोसमय बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । आज उनले सडक डिभिजन कार्यालय दिपायल कुल्पतेका निमित्त प्रमुख वीरेन्द्र चन्दलाई पुलको काम तत्काल शुरु गराउन निर्देशन दिएका हुन ।

मुख्यमन्त्री भट्टले पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम शुरु गर्न आनाकानी गरे कारवाहीका लागि प्रदेश मन्त्रालयमा सिफारिस गर्नसमेत दिएका थिए ।

उनले भने, “काम शुरु गर्न ठेकेदार कम्पनीलाई खबर गर्नुस् काम शुरु नगरे कारवाहीका लागि पत्र पठाउनुस् हामी कारवाही गर्छौं ।” प्रमुख चन्दले गलत लागत अनुमान तथा ठेकेदार कम्पनीको हेलचक्र्याइँका कारण पुल निर्माणमा समस्या भएको जानकारी दिए । उनले भने, “पुलको लागन अनुमान पनि केही गलत भएको छ, त्यसैमाथि ठेकेदार कम्पनीले लापर्वाही गर्दा समस्या भएको हो ।”

जिल्लाको सातनाली–मेल्लेक–बझाङ सडकलाई केआइसिंह राजमार्गसँग जोड्न शिखरनगरपालिका–१० बानीडुग्रीसैनको सेती नदीमाथि पक्की पुल निर्माण गर्न विसं २०७१ असार २० गते सम्झौता भएको थियो । विसं २०७४ असार २० गतेभित्र पुल निर्माण भइसक्नुपर्ने भए पनि पुलको निर्माण कार्य अहिलेसम्म जम्मा २० प्रतिशत मात्रै भएको छ ।

वर्षौैदेखि सुस्त गतिमा हुँदै आएको उक्त पुल निर्माणको कार्य पछिल्लो समय पूर्णरुपमा रोकिएको स्थानीयवासी रामबहादुर धाँमीले जानकारी दिए । मूल्य अभिवृद्धिकरसहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करिब ४०० मिटर लामो उक्त आरसिसी पुलका लागि डिभिजन सडक कार्यालय दिपायल कुलपातेले पुष्प–राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । हालसम्म पुलका दायाँ र बायाँ पिल्लर उठाइएको छैन ।

शिखर नगरपालिकाको वडा नं ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण विसं २०४९ देखि निर्माण कार्य शुरु भएको सातनाली–मेल्लेक–बझाङ सडक पनि अलपत्रमा परेको छ । पुल नभएरै उक्त सडकमा यातायातका साधन सञ्चालन हुन नसकेको स्थानीयवासी प्रेमबहादुर बलायरले बताए ।

उनले भने, “पुल नै बनेको छैन कहाँबाट लगेर गाडी चलाउनु रु काटेको सडक गाडी नचल्दा दिनहु बिग्रिन र भत्किन थालेको छ ।” सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार पहिलो पटक ठेक्का सम्झौताको अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थपिएको थियो । पुनःम्याद थपिए पनि काम शुरु हुन सकेको छैन । हालसम्म ठेकेदार कम्पनीलाई कारवाही भएको छैन । रासस

प्रतिक्रिया दिनुहोस्