वाग्मती सफाइ महाअभियानले ल्याएको परिवर्तन



काठमाडौ : विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानले ३५० हप्ता पार गरेको छ । महाअभियानले बबरमहलबाट त्रिपुरेश्वरसम्मको करीब एक हजार ५०० मिटर नदी क्षेत्र सफाइको जिम्मेवारी काठमाडौँ महानगरपालिका–११ लाई दिएको छ । वडाध्यक्ष हीरालाल तण्डुकारले वडा क्षेत्रको वाग्मती सफाइका लागि सक्दो काम गर्ने प्रतिबद्धता जनाए।

महाअभियानको ३५०औँ हप्ता पुगेको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकार र महानगरपालिकाले वाग्मती सफाइमा गर्नु्पर्ने जति काम गर्न नसकेको बताए । “वाग्मतीको सभ्यता जोगाउन सफा महाअभियानले चेतना जगाएको छ, ११ नं वडालगायत केही वडाले सफाइका लागि पु-याएको योगदान महत्वपूर्ण छ, संविधानसभा सदस्य हुदा पनि केही योजना अघि सारेको हो, अब पनि सांसदका हैसियतले गर्न सकिने सहयोग गर्छु”, उनले भने ।

वीर अस्पताललगायत केहीमा फोहर व्यवस्थापन सफल भएजस्तै आफूले वाग्मतीमा गर्ने योजना अघि सारे पनि सफल नभएको नेता सिंहको भनाइ थियो । आफू सानो हुँदा वाग्मती, विष्णुमतीमा बग्ने स्वच्छ पानीजस्तै फेरि बगाउन चाहेको उनले सुनाए ।

शहरी विकास मन्त्रालयका सचिव मधुसू्दन अधिकारीले तीन महिनासम्ममा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइट तयार भई राजधानीको फोहर व्यवस्थापन हुने जानकारी गराए । विशेष कार्यक्रमअघि भएको त्रिपुरेश्वर क्षेत्रको नदी सफाइमा ५० भन्दा बढी संस्थाका दुई हजार २०० भन्दा बढी अभियानकर्मी सहभागी भएका थिए । सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए ।

सफाइ महाअभियानले ३५० हप्ता पार गर्दा नदीबाट १२ हजार मेट्रिक टन फोहर व्यवस्थापन भएको, २० हजारभन्दा बढी स्वयंसेवी सहभागी भएको जनाइएको छ । महाअभियानले अब वडा–वडालाई सफाइमा जिम्मेवार बनाउन लागेको घोषणा पनि आज गरियो । रुद्रमती सफाइ अभियानको ३०२औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको नदी किनारमा सफाइ गरियो ।

सफाइमा वातावरण संरक्षण अभियान, रुद्रमती सरोकार समाज, पहिलो पाइलालगायत संस्थाको सहभागिता थियो । सफाइबाट एक टन फोहर व्यवस्थापन गरिएको समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिए । रुद्रमती सफाइपछि समूह वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तामा सहभागी हुन त्रिपुरेश्वर पुगेको थियो ।

विष्णुमती सफाइ अभियानको २७७औँ हप्तामा तारकेश्वर नगरपालिकाको जरङ्गु पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा तीनै वटा सुरक्षा निकाय, नगरपालिकाको १० नं वडाध्यक्ष अमृत थापा, स्थानीय संस्थालगायतको सहभागितामा भएको सफाइबाट छ टन फोहर व्यवस्थापन गरिएको कार्यक्रम संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

चक्रपथ पश्चिम खण्ड सफाइको १३०औँ हप्ताको समूह वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तामा सहभागी भएको संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए । ललितपुर गोदावरी खोला सफाइको ४७औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक बेबी थापाले जानकारी दिए । उपत्यकाका अन्य स्थानका सफाइ अभियानकर्मी पनि आज त्रिपुरेश्वरमा भएको वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्ताको विशेष कार्यक्रममा सहभागी भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्