कोरोना भाइरस नेपालमा भेटियो , सचेत रहन आग्रह



काठमाडौ : नेपालमा पनि कोरोना जिवाणु (भाइरस) भित्रिन सक्ने जनाउँदै स्वास्थ्य क्षेत्रका विज्ञले सचेत हुन आग्रह गरेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा भएकाले सतर्क हुन सबैलाई अपिल गरे ।

चीनबाट नेपाल फर्किएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदा सो भाइरसको सङ्क्रमण भेटिएको जनाइएको छ । भाइरस सङ्क्रमित बिरामी आउनसक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । उनले भने, “कोरोना भाइरस अध्ययनको विषय बनेको छ, तर धेरै भयावह स्थिति छैन ।”

प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट सङ्क्रमण भएकामध्ये तीनदेखि चार प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरे। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तयारी अवस्थामा राखिएको जनाइएको छ ।

अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए । सरुवा रोग विशेषज्ञ चिकित्सक डा शेरबहादुर पुनले कोरोना भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिए । उनले भने, “कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो ।” रासस

प्रतिक्रिया दिनुहोस्