धोनीको खेल जीवन सकिएकै हो ?



काठमाडौं : भारतका सफल क्रिकेटर महेन्द्रसिंह धोनीको अन्तर्राष्ट्रिय खेल जीवन सकिएकै हो त ? अहिले विश्वभरका क्रिकेट समर्थक यही प्रश्नको उत्तरको पर्खाइमा छन्। भारतका सबैभन्दा सफल कप्तान मानिएका धोनीको खेल जीवन अन्त्यको यो प्रश्न त्यत्तिकै उठेको होइन।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले महेन्द्रसिंह धोनीलाई नयाँ केन्द्रीय सम्झौताबाट हटाएपछि उनको अन्तर्राष्ट्रिय खेल जीवनका बारेमा प्रश्न उठेको हो। बीसीसीआईले २७ जना खेलाडीको नाम सार्वजनिक गर्दा त्यो सूचीमा धोनीको नाम भने राखेको छैन। उनले गत वर्षको विश्वकपपछि भारतका लागि कुनै खेल खेलेका छैनन्। उनी पोहोर बीसीसीआईको सूचीमा ‘ए ग्रेड’मा थिए। यो पटक सम्झौताको सूचीमा नपरे पनि बोर्डको मापदण्डअनुसार खेल प्रदर्शन गरेमा धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न सक्नेछन्। त्यसका लागि उनले भारतीय घरेलु क्रिकेटमा आफ्नो पुरानो लयलाई प्रमाणित गर्नुपर्नेछ।

धोनी भारतीय क्रिकेट इतिहासकै सर्वाधिक सफल कप्तान हुन्। उनकै नेतृत्वमा भारतले सन् २००७ मा ट्वेन्टी–ट्वेन्टी विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो।

धोनीले भारतका लागि ९० वटा टेस्ट क्रिकेटमा छ शतक र ३३ अर्धशतकसहित ४ हजार ८ सय ७६ रन, ३ सय ५० एकदिवसीय खेलमा १० शतक र ७३ अर्धशतकसहित १० हजार ७ सय ७३ रन र ९८ वटा ट्वेन्टी–ट्वेन्टी खेलमा दुई अर्धशतकसहित १ हजार ६ सय १७ रन बनाएका छन्।

केन्द्रीय सम्झौतामा नपर्ने क्रिकेटरलाई बीसीसीआईले कुनै पनि पारिश्रमिक दिँदैन। तर, सम्झौतामा पर्नेहरूलाई भने ग्रेडअनुसार वार्षिक रूपमा पारिश्रमिक दिने गरेको छ। ए प्लस ग्रेडमा पर्नेले वर्षको सात करोेड, ए ग्रेडमा पर्नेले पाँच करोड, बी ग्रेडमा पर्नेले तीन करोड र सी ग्रेडमा पर्नेले वर्षको एक करोड भारतीय रुपैयाँ पाउने गरेका छन्। अन्नपूर्णपोष्टबाट

कुन खेलाडी कुन ग्रेडमा ?

ए प्लसः कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुमराह

एः रविचन्द्रन आश्विन, इशान्त शर्मा, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, केएल राहुल, अजिन्क्या रहाणे, शिखर धवन, मोहम्मद सामी, कुलदीप यादव र ऋषभ पन्त

बीः ऋद्धिमान साह, हार्दिक पान्ड्या, उमेश यादव, युजवेन्द्र चहल र मयंक अग्रवाल

सीः केदार जाधव, दीपक चाहर, नवदीप सैनी, मनीष पाण्डे, शार्दूल ठाकुर, हनुमा बिहारी, श्रेयस ऐयर र वासिङ्टन सुन्दर

प्रतिक्रिया दिनुहोस्