चीनबाहेक यी १२ मुलुकमा कोरोना भाइरस, चीनमा ४१ को मृत्यु



काठमाडौं : चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ४१ जनाको ज्यान गएको छ । शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ । मृतक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् ।

देशभर १३ सयभन्दा बढी संक्रमित छन् । शनिबार भेटिएका एक सय ८० बिरामीमध्ये ७७ वुहानकै छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ । एक करोड १० लाख जनसंख्या रहेको वुहानमै गत महिना पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । अहिले विश्वभर फैलिँदै छ ।

चीनले कोरोना नियन्त्रण गर्न व्यापक सतर्कता अपनाएको छ । नयाँ वर्षका धेरै कार्यक्रम रद्द भएका छन् । वुहानसँग जोडिएका १४ सहरमा आवतजावत नै बन्द गरिएको छ । वुहानमा सम्पूर्ण बस, मेट्रो, रेल र फेरी सेवा स्थगित गरिएका छन् भने त्यहाँबाट उड्ने विमान सेवा पनि रद्द गरिएको छ ।

वुहानमा कोरोना संक्रमितको उपचारका लागि मात्रै विशेष अस्पताल बनाउन सुरु गरिएको छ । २५ हजार वर्गमटिर क्षेत्रफलमा निर्माण भइरहेको एक हजार शय्याको अस्पताल ६ दिनमा तयार हुनेछ । निर्माणमा ४५ डोजर प्रयोग गरिएका छन् । नयाँ अस्पतालले मेडिकल स्रोतसाधनको विद्यमान समस्यालाई समाधान गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २००३ मा सार्स भाइरस संक्रमणका वेला पनि बेइजिङमा एक सातामा एउटा अस्पताल निर्माण भएको थियो ।

ग्रेटवालको केही अंशलगायत बेइजिङको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्द छन् । देशका अन्य भागमा हुन लागेका महत्वपूर्ण कार्यक्रम पनि रद्द गरिएका छन् । सांघाईको डिज्नी रिसोर्ट अस्थायी रूपमा बन्द छ भने पाँच सहरमा म्याक डोनाल्ड रेस्टुरेन्टका शाखा बन्द छन् ।

यो भाइरस संक्रमण भएपछि सुरुमा ज्वरो आउने र लगातार सुक्खा खोकी लाग्ने हुन्छ । केही दिनमै स्वास फेर्न कठिन पार्छ । तर, यस्तो लक्षण नदेखिएका बिरामीमा पनि कोरोना भेटिने गरेको विज्ञहहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनले चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको खतराको स्तर यकिन गर्न अहिले चाँडै हुने जनाएको छ ।

चीनको वुहानमा गत महिना देखिएको कोरोना भाइरस अहिले अन्य १२ मुलुकमा पनि फैलिसकेको छ । नेपाल, दक्षिण कोरिया, जापान, ताइवान, भियतनाम, सिंगापुर, मलेसिया, थाइल्यान्ड, फ्रान्स, अस्ट्रेलिया र अमेरिकामा कोरोना संक्रमित भेटिएका छन् ।

फ्रान्समा वुहानको भ्रमण गरेर फर्किएका चिनियाँ मुलका ४८ वर्षीय पुरुषमा कोरोना देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पेरिसमा अर्का व्यक्तिमा पनि संक्रमण देखिएको छ । त्यस्तै, अस्ट्रेलियामा शनिबार पहिलोपटक कोरोनाको संक्रमण पुष्टि भएको हो । ती व्यक्ति पनि चीनको भ्रमण सकेर फर्किएका थिए । उनको मेलवर्नमा उपचार भइरहेको छ ।

अमेरिकामा शुक्रबार सिकागो सहरका एक व्यक्तिमा कोरोना देखिएको थियो । सिंगापुरमा तीनजना संक्रमित छन् । थाइल्यान्डमा पाँच व्यक्ति संक्रमित छन् । त्यस्तै, जापान, भियतनाम, दक्षिण कोरियामा दुई–दुईजनामा संक्रमण देखिएको छ । नेपाल र ताइवानमा एक–एकजनामा कोरोना पोजेटिभ देखिएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्