प्युठानका अग्निपीडितलाई राहत



प्यूठान: प्यूठान नगरपालिका–८ भेडाबारीका अग्निपीडितले सरकारसँग बासको व्यवस्था गर्न मागेका छन् । शुक्रबार राहत बोकेर पुगेका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, वडाअध्यक्ष, नेपाल रेडक्रसलगायतका सङ्घसंस्थासँग आफ्नो ओतका लागि बासको व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । 

उनीहरुको अनुरोधलाई सम्बोधन गर्ने भन्दै वडाध्यक्ष लिलापजङ्ग केसीले स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा १० दिनभित्र पीडितलाई पुर्नवासको व्यवस्था गराउने बताए ।  

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको नेतृत्वमा गएको जिल्ला प्रशासन, र जिल्ला प्रहरी कार्यालयको टोलीले पीडितलाई रु १०÷१० हजार नगद प्रदान गरेको थियो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखा ले पनि दुई कम्मल, एकसेट भाडा एक÷एक पाल वितरण गरेको थियो । 

प्यूठान नगरपालिकाले प्रतिपरिवार रु २५ हजारका दरले राहत प्रदान गरेकामा विआरवन ग्रुपले पनि खाद्यान्न उपलब्ध गराएको थियो । बिहीबार काली सार्कीको घरबाट सल्केको आगोले पम्बु सार्की र रेनु सार्कीको घर जलेर नष्ट भएको थियो । 

आगलागीबाट करीब रु १४ लाख बरावरको धनमाल क्षति भएको नगरपालिका–८ का वडाध्यक्ष लिलापजङ्ग केसीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्