सुन सरकार चेलीहरुको चित्कार ! प्रहरीले ढाँटेछ पैसासँग साटेछ !



दाङ : बलात्कार विरुद्ध राष्ट्रिय अभियान अन्र्तगत शनिबार दाङको घोराहीमा पनि सरकारको आलोचना गर्दै विरोध प्रदर्शन भएको छ । कञ्चनपुरकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सत्यतथ्य सरकाले छानविन गर्न नसकेको भन्दै सरकार विरुद्ध  न्यायको माग गर्दै विरोध प्रदर्शन भएको हो । 

 

दाङको घोराहीमा रहेको सर्वोदय बाल क्लबको आयोजनामा भएको प्रदर्शनमा विभिन्न संघ सस्था, र महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । त्यसअवसरमा नेतासँग सिके छ, प्रहरी पनि बिकेछ, सुन सुन सरकार चेलीहरुको चित्कार, प्रहरीले ढाँटेछ पैसासँग साटेछ, असक्षम प्रहरी प्रमुख राजिनामा दे लगायत लेखिएका प्ले कार्ड प्रदर्शन गरिएको थिए ।

 

घोराहीको तुलसिपुर चोकबाट शुरु भएको विरोध र्‍यालि दामोदर चोक, शहिद गेट हुँदै जिल्ला प्रशासनमा पुगेर कोणसभामा परिणत भई प्रर्दशनमा सहभागी अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ मार्फत् प्रधानमन्त्रीको कार्यालयमा बलात्कारीलाई कडा कार्बाही गर्न र दोषीलाई तत्काल पक्राउ गरेर सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

 

बढ्दै गइरहेको हत्या हिंसा तथा बलात्कार विरुद्ध देशभर न्यायको माग गर्दै सरकारकाे विरोध प्रदर्शन भईरहेको छ । महिला अधिकारकर्मी तथा विभिन्न संघ संस्थाहरुले सरकार विरुद्ध विरोध प्रदर्शन गर्दै आईरहेका छन् । धेरै ठाउँमा घट्ना घटेको लामो समयसम्म पनि पिडित पक्षले न्याय पाउन सकेका छैनन् ।

 

कतिपय कुराहरु कानुनमा भए पनि कार्यान्वयन आउन सकिराखेका छैनन् । विभिन्न प्रकारका जघन्य अपराधहरु बढ्दो क्रममा रहेका छन् । प्रहरी प्रशासनले पनि जो गलत कार्यमा संलग्न हुन्छ त्यस्ता व्यक्तिलाई कानुनको दायरामा ल्याउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्