कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो



एजेन्सी: कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । आइतबार मात्रै १५ जनाको मृत्यु भएको चीनका अधिकारीहरूले जनाएका छन् ।

चीनमा शनिवार मात्रै थप ६ सय ८८ जनामा संक्रमण देखिएको थियो । यो सँगै १ हजार ९ सय ७५ जना संक्रमित भएको पुष्टि भएको छ ।

चीनको स्वास्थ्य सचिवालयले वुहानमा १ हजार २ सय ३० चिकित्सकको विषेश टोली पठाउने निर्णय गरेको छ । त्यसैगरी सेनाले थप ४ सय ५० र ३ सेनाको चिकित्सक टोली पनि वुहानमा पठाएको चीनको सञ्चार माध्यमहरूले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी समाप्त नभएसम्म चीनले राष्ट्रव्यापी वन्यजन्तुको व्यापारमा अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ ।

वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन शुरु गरिएको छ ।

१ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण शुरु भएको थियो । यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र औषधि पसलहरूमा औषधिको अभाव भएको छ।

राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार नयाँ अस्पतालमा १ हजार शैय्या हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्