डेरी उद्योगमा युवाको लगानी बढ्दै



मङ्गलबारे : इलाम नगरपालिका–८ का मिलन खत्रीले २०७४ सालमा सेतो पहाड नामक डेरी उद्योग स्थापना गरे । विद्यार्थी राजनीतिमा सक्रिय खत्रीले शुरुमा रु एक लाख ५० हजारको लागतमा स्थापना गरेका उद्योगमा हाल रु एक करोड ३० लाख लगानी भइसकेको छ ।

स्थापनाका समयमा करिब १०० लिटरसम्म दूध प्रशोधन गर्न थालेका खत्रीले हाल दैनिक एक हजार ६०० लिटर दूध सङ्कलन र प्रशोधन गरिरहेका छन । “दूध थपिएसँगै लगानीसमेत बढेको छ”, उनले भने । खत्री हाल जिल्लामा नै क्रियाशिल युवा व्यापारीमा गनिन थालेका छन । युवा अवस्थामा नै उनले राम्रो मेहनतसँगै प्रतिफलसमेत हात पारिरहेका छन ।

मासिक दुई हजार किलो माथि छुर्पी र एक हजार ८०० किलो घ्यू उत्पादन हुनेगरेको उनले बताए । त्यस्तै बम्मैसन, ललिपपलगायतका परिकारसमेत उत्पादन हुने उनले बताए । व्यवसायी खत्रीले अन्य साना ३० भन्दा बढी डेरी उद्योगबाट उत्पादित घ्यू र छुर्पी खरिद गर्ने गरेका छन । खत्रीले आफ्नो उद्योगमा प्रत्यक्षरुपमा २१ जनालाई रोगजारीसमेत दिलाएका छन । भने अप्रतक्षरुपमा १४० जनाले रोजगारी पाएका छन् ।

इलाम दुुध उत्पादनमा अग्रणी जिल्लाका रुपमा परिचित छ । यहाँ धेरै डेरी उद्योगसमेत सञ्चालनमा छन् । उमेरले कलिलै भए पनि यहाँ प्रायजसो युवाको आकर्षण बढ्दै गएको छ । सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी उद्योगमा वर्षेनी युवाको लगानी थपिँदै गएको हो । देउमाई नगरपालिका–४ का अशेष बुढाथोकीले विदेशबाट फर्किएर डेरी उद्योग स्थापना गरेका छन । तल्लो बुधवारेमा उनले गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन ।

विसं। २०७४ मा स्थापना गरिएको डेरीमा शुरुमा रु ३० लाख लगानी भएको उनले बताए । बुढाथोकीको उद्योगमा हाल रु ६० लाख माथि लगानी भइसकेको छ । उनले करिव २५० किसानले उत्पादन गरेको दूध सङ्कलन गरिरहेका छन । दैनिक करिव ७०० लिटर बढी दूध सङ्कलन भइरहेको उनले बताए । ‘कहिले धेरै कहिले थोरै यस्तै हो दूध सङ्कलन ।’ उनले भने, “किसानका गाईभैँसी लैनो हुँदा धेरै र बमेर्नो भएपनि कम दूध सङ्कलन हुने उनले बताए ।” त्यसबाट मासिक एक हजार ५०० किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुने गरेको उनले बताए ।

सो उद्योगमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू नेपाली बजारमा नै बिक्री हुँदै आएको छ । उनको डेरी उद्योगमा १५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । हाल इलाममा ५५० डेरी उद्योग सञ्चालनमा रहेका घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ । बिशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका युवाले व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको बताइएको छ । समग्र जिल्लामा दर्ता भएका डेरी उद्योग युवाकै नाममा दर्ता भएका पाइएका छन् ।

आर्थिक वर्ष २०७५÷७६ मा ९१ डेरी उद्योग दर्ता भएका थिए । ती उद्योगमा रु ११ करोड २७ लाख १६ हजार लगानी भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइँले बताए । एउटा डेरी उद्योगमा रु एक लाख ५० हजारदेखि रु एक करोड ५० लाखसम्म लगानी हुने गरेको छ । सबैभन्दा बढी देउमाई नगरपालिकामा १०४ डेरी उद्योग सञ्चालनमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्