पत्रकार महासंघका अध्यक्ष मिश्रले दिए नगरप्रमुखविरुद्ध किटानी जाहेरी



जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहविरुद्ध किटानी जाहेरी दिएका छन् ।

आफू लगायत पत्रकारहरुमाथि भएको अमानवीय व्यवहारविरुद्ध अध्यक्ष मिश्रले उपमहानगरका प्रमुख साहबिरुद्ध किटानी जाहेरी दिएका हुन् । गत पुस २२ गते उपमहानगरका प्रमुख साहको कार्यकक्षमा प्रतिक्रिया लिन पुगेका कान्तिपुर टेलिभिजनका सम्वाददाता अमरकान्त ठाकुरमाथि हातपात भएपछि घटनाको विषयमा कुरा गर्न पुगेका अध्यक्ष मिश्रमाथि अपशब्द प्रयोग गरिएको थियो । सोही विषयलाई लिएर अध्यक्ष मिश्रले आज (आइतबार) जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी दिएका हुन् ।

पुस २२ गते मेयरकै कार्यकक्षमा पत्रकारहरुमाथि भएको हातपात एवं दुव्र्यवहारको घटनापछि उत्पन्न परस्थितिलाई साम्य पार्नका लागि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको संयोजकत्वमा उपमहानगर र महासंघबीच घटनामा संलग्न दोषीहरुलाई कानूनी दायरामा ल्याउने सहमति भएको थियो । सहमति भएको दुई साता बितिसक्दा समेत दोषीहरुलाई कानूनी दायरामा नल्याएकोले घटना घटाउने मेयरबिरुद्ध किटानी जाहेरी दिनु परेको महासंघका अध्यक्ष मिश्रले बताए ।

मेयर साहसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरु अमरकान्त ठाकुर, सुमित मिश्र, राजा झा र सुभाष कर्णमाथि हातपात तथा दुर्व्यवहार भएको थियो । उनीहरूले समेत आआफ्नो तरिकाले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्