शाहरुख खानले भने, ‘म मुसलमान हुँ, मेरी पत्नी हिन्दु र मेरा छोराछोरी हिन्दुस्तान’



एजेन्सी : बलिउडका ‘किङ्ग’ शाहरुख खान पछिल्लो समय फिल्मबाट लामो समयदेखि टाढा भएका छन् । यद्यपि, उनी सामाजिक सञ्जालका विभिन्न कार्यक्रममार्फत आफ्ना दर्शकहरुसँग सम्पर्कमा रहिरहन्छन् ।

उनले हालै एक टेलिभिजन डान्स रियालिटी शो ‘डान्स प्लस–५’ मा आफ्नी श्रीमती हिन्दु, उनी मुसलमान र छोराछोरी हिन्दुस्तान भएको बताएका छन् ।

शनिबार राति टेलिभिजनबाट प्रशारण हुने उक्त रियालिटी शोमा शाहरुख खान पाहुनाको रुपमा पुगेका थिए । यसै दौरान उनले धेरै कुराको खुलासा गरेका थिए । उनले आफ्नो धर्मको विषयलाई लिएर भने, ‘हामी कोही हिन्दु, मुसलमानको कुरा नै गरेनौँ । मेरी श्रीमती हिन्दु हुन् । म मुसलमान र मेरा छोराछोरी हिन्दुस्तान हुन् ।’

शाहरुख खानले आफ्नो छोराछोरीले स्कुलको फर्ममा धर्म के हो भनेर भर्नुपर्ने बाध्यता भएको बताउँदै भने, ‘जब मेरी छोरी सानी थिइन् उनले मलाई सोधिन्, ‘बाबा हामी कुन धर्मका हौँ ?’ त्यसपछि मैले उनलाई हामी भारतीय हौँ ।’

शाहरुख खानले थुप्रैपटक सार्वजनिक कार्यक्रममा धर्मको विषयलाई लिएर कुराकानी गरेका छन् । उनी सबै धर्मलाई बराबर सम्मान र माया गर्ने बताउँछन् । उनी आफू मुसलमान भए पनि नमाज नपढ्ने र हिन्दु नभए पनि त्योहार मनाउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्