नेपाल टेलिकम सुपर क्रिकेट लिग, बुद्ध स्पोटर्स क्लब विजयी



भैरहवा : रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता–२०७६ अन्तर्गत सम्पन्न ग्रुप सी अन्तर्गतको खेलमा बुद्ध स्पोटर्स क्लब भैरहवा विजयी भएको छ ।

बुद्धले शंकरनगर क्रिकेट क्लब शंकरनगरलाई ३ विकेटले पराजित गरेको हो ।

निर्धारित ४३ ओभरको खेलमा टस जितेर व्याटिङ गरेको शंकरनगरले ३४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रनको योगफल बनायो ।

उसका लागि अखिलेश यादवले ३६, उत्तम थापाले २९ र नितेश थापाले १७ रनको योगदान गरे । बलिङमा बुद्धका रुपेश कुर्मीले ४, विपिन खत्री र रिजन प्रजुले २÷२ तथा प्रवेज अन्सारी र सुरज गुरुङले १÷१ विकेट लिए ।

जवाफमा बुद्धले ३४ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनायो । उसका लागि विपिन खत्रीले ४४, सलिम अलीले १७, अमित अग्रहरीले १६ तथा जमाल अहमद र सुरज गुरुङले १३÷१३ रनको योगदान गरे ।

बलिङमा शंकरनगरका अखिलेश यादवले ३, कमल ओलीले २ तथा केशव पौडेल र सन्तोष खत्रीले १÷१ विकेट लिए । खेलमा बुद्ध स्पोर्टस क्लबका विपिन खत्री म्यान अफ म्याच घोषित भए ।

नेपाल टेलिकमको प्रायोजन, विके ज्वेलर्स भैरहवाको सह–प्रायोजन, प्रदेश ५ सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको रुपन्देहीको सहयोगमा सञ्चालित प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार, द्धितीय हुनेलाई ४० हजार, म्यान अफ सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र इमरजिङ प्लेअरलाई ५/५ हजार प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ ।

त्यस्तै प्रत्येक दिनको खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई १ हजार प्रदान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्