चिनियाँ राष्ट्रपतिका दूत र पूर्वराजाबीच के कुरा भयो ?



काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनफिङले केही समय अघि नेपाल भ्रमण गर्दा पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरेको कुरा अहिले एकजना नेपाली प्राध्यापकले खुलासा गरेका छन् । ती प्राध्यापकले चिनियाँ राष्ट्रपति बसेको होटल सोल्टीको स्वीट रुममा पूर्वराजा र राष्ट्रपति सीबीच भेटवार्ता भएको दाबी गरेका छन् ।

यद्यपी यस विषयमा स्वतन्त्र पुष्टि हुन सकेको छैन । कडा सुरक्षाको व्यवस्था गरिएको उक्त होटलमा पूर्वराजा गएको कुरा बाहिर आउन नसक्ने सम्भावना रहेको बताउँदै कतिपयले यस विषयमा संशय प्रकट गरेका छन् ।

तर, ती प्राध्यापकको दाबी छ–‘चिनियाँ राष्ट्रपतिको भ्रमण टोलीका लागि छुट्याइएको सोल्टी होटेलको एउटा पूरै ब्लकमा पाहुन खचाखच भएपनि एउटा स्वीट रुममा सधै ताल्चा लगाइएको थियो । र त्यही स्वीटमा पूर्वराजाको भेट राष्ट्रपति सी सँग भएको हुनसक्छ ।’ ती प्राध्यापकले राष्ट्रपति सीले नेपाल टेकेको दुई घण्टा भित्रै सीले आफ्नो भ्रमण टोलीका एक महत्वपूर्ण सदस्यलाई पूर्वराजा ज्ञानेन्द्र समक्ष विशेष दूतका रुपमा पठाएको पनि बताएका छन् ।

वरिष्ठ पत्रकार समेत रहेका ती प्राध्यापक हुन् –पी खरेल । खरेलले आफ्नो लेख प्रकाशित गर्दै उक्त विषय खालेका छन् । खरेलले सीले पठाएका विशेष दूत र पूर्वराजा ज्ञानेन्द्रबीच छलफल वार्ता भईरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले विशिष्ट विदेशी पाहुनाका लागि आयोजना गरिएको रात्रीभोमा सम्बोधन गर्दै गरेको उल्लेख गरेका छन् । उनले भोजका समयमा निर्मल निवास पुगेका दूतका लागि रात्रीभोजमा मेच खाली राखिएमा अरुको ध्यान आकर्षित हुन सक्ने आकलन गरी मेच हटाइएको समेत दाबी गरेका छन् । खरेलले पूर्वराजा र चिनियाँ विशेष दूतबीच निर्मल निवासमा भएको वार्ताको ठोसपक्ष बुझ्न भारतीय दूतावासले पाँच वटा खुफिया निकाय खटाएको कुरा पनि उल्लेख गरेका छन् ।

खरेलले राष्ट्रपति सीको भ्रमण तालिका तयार गर्दा चिनियाँ पक्षबाट पूर्वराजालाई भेट्दा कसो होला भनेर नेपाल सरकार समक्ष सोधिएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान अवस्थामा त्यस्तो भेट उपयुक्त नहुने जबाफ दिएका कारण पाहुना राष्ट्रपतिले राजकीय भोजमा अनुपस्थित हुने गरेर भएपनि विशेष दूत खटाएर निर्मल निवासमा आफ्नो सन्देश पठाएको दाबी गरेका छन् । तर पूर्वराजा र विशेष दूतबीच भएको कुराकानी भने खरेलले स्पष्ट खुलाएका छैनन् ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल सिलिगुडी प्रस्थान गरेका छन् । पश्चिम बंगाल र सिक्किमको करिब साताव्यापी यात्रामा पूर्वराजा रानीसहितको टोलीले गांटोक र दार्जिलिङको पनि यात्रा गर्ने बताइएको छ ।

दार्जिलिङमा विद्यालयस्तरीय पढाई गरेका ज्ञानेन्द्रले आफू पढेको स्कुलको समेत भ्रमण गर्ने कार्यक्रम रहेको श्रोतको दाबी छ । उनीहरु आज (आइतबार) बिहान बंगाल प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्