विप्लव समूहले कुन–कुन ठाउँलाई बनाउँदैछ निशाना ?



काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्न थालेपछि गृहमन्त्रालयले आफू मातहतको सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन दिर्नेशन जारी गरेको छ । केही हप्ता अघि ललिता निवास जग्गा काण्डका मुख्य नाई शोभाकर ढकालको घरमा बम विस्फोट गरेर बालुवाटारमा बम राखेर आतंकित बनाएको विप्लव नेतृत्वको प्रतिबन्धित माओवादीले काठमाडौं केन्द्रीत आन्दोलनलाई बढावा दिइरहेको त्यस घटनाबाट पनि पुष्टि हुन्छ ।

अझ यससम्बन्धि नेपाल प्रहरीले नयाँ सुराक पाएको छ । काठमाडौंमा विप्लव माओवादीले ठूलो अप्रेशन चलाउँदै भनेर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही उच्च नेता र व्यापारीक समूहप्रति लक्षित गरी बम विस्फोट गराउन सक्ने सूचना पाएपछि सुरक्षा सतर्कता अझ बजबुत बनाइएको गृह श्रोतले बतायो । त्यसैकारण सिंहदरबार, बालुवाटार, संसद भवन, पुल्चोकस्थित मन्त्री निवास, नारायणहिटी संग्राहलय लगायत १८ ठाउँमा सुरक्षा सतर्कता अपनाइएको बताइन्छ ।

एक प्रहरी अधिकारीका अनुसार महत्वपूर्ण सरकारी कार्यालय, उच्च सरकारी अधिकृतहरुको निवास, भारतीय राजदूतावास, अमेरिकी राजदूतावास र कपन हाइटमा रहेको भीआईपी बस्ने क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको हो ।

उता विप्लव माओवादीले १५ दिने आन्दोलनका कार्यक्रमको घोषणा गर्दै अघि बढेको छ । जेलमा बन्दी जीवन बिताइरहेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहाइको लागि दवाव दिने उद्देश्यले उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेकपा श्रोतले बताएको छ । जस अनुसार विप्लव माओवादीले गत ५ गते नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । १० गते जेलमा बन्दी जीवन बिताइरहेकाहरुको रिहाइको माग गर्दै तस्वीर प्रदर्शनी गरेको थियो । त्यसैगरी सोही दिन एमसीसीको विरोध गर्दै नेपालस्थित अमेरिकी राजदुतावासमा ज्ञापनपत्र बुझाएको थियो । आज (आइतबार) १२ गते संयुक्त राष्ट्रसंघको कार्यालयमा ज्ञपनपत्र बुझाउने कार्यक्रम रहेको छ । त्यस्तै नेकपाले माघ १६ गते सहिद दिवस मनाउने कार्यक्रम रहेको छ ।

देशमा व्याप्त रहेको महंगीको विरोध गर्दै मघ १८ गते महँगीविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम नेकपाले सार्वजनिक गरेको छ । यसैगरी माघ २० गते खुला सांस्कृतिक कार्यक्रम गर्ने नेकपाले जनाएको छ । त्यस्तै माघ २५ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

कार्यक्रमकै दौरानमा विप्लव नेतृत्वको नेकपा रुपन्देहीले गत शुक्रवार जेल तथा हिरासतमा बन्दी बनाइएका नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै फोटो प्रदर्शनसहित कोणसभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्ने बक्ताहरुले सरकारद्वारा गैरन्यायिक ढंगले जेल हिरासतमा राखिएका नेताकार्यकर्ताहरुको रिहाइको माग गरेका थिए । साथै उनीहरुले आफ्नो पार्टीका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्न माग समेत गरेका थिए ।

त्यस्तै नवलपुर, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची नवलपरासी लगायतका जिल्लामा पनि बन्दीहरुको फोटो प्रदर्शनका साथै कोणसभा सम्पन्न भएको नेकपा स्रोतले बताएको छ । कोणसभामा नेकपाका नेताहरुले आइपीएस र एमसीसीको पनि कडा विरोध गरेका थिए ।

विप्लव नेतृत्वको नेकपाले आफ्नो नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै आन्दोलन चकाइरहेको बताइन्छ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ हाल नख्खु जेलमा रहेका छन् । उनलाई गत वर्ष चैतदेखि ललितपुरस्थित नख्खु कारागारमा थुनामा राखेको हो ।

गत पुस १२ गते सुनसरीबाट पक्राउ परेका विप्लव माओवादीकी केन्द्रीय सदस्य उमा भुजेल केही समय सुसरीस्थित इनरुवामा राखेकोमा अहिले झापा पुर्याइएको छ । त्यसैगरी केन्द्रीय सदस्य चन्द्रप्रकाश चन्द ‘वीरजङ्ग’ लाई असोज ३० मा दाङबाट गिरफ्तार गरेर दाङ जेलमा राखिएको छ । अर्का नेता भरत वम ‘रणवीर’ लाई जेठ १२ मा बाँकेबाट गिरफ्तार गरेर बाँके कारागारबाट सरुवा गरी हाल बर्दिया जिल्ला कारागारमा राखिएको छ ।

त्यसैगरी नेता सुदर्शनसहित चैतमा काभ्रे, तालढुङ्गा क्षेत्रबाट पक्राउ परेका प्रज्जवलनलाई रूपन्देही जेलमा राखिएको छ । त्यस्तै काठमाडौंबाट पक्राउ परेका केन्द्रीय सदस्य माइला लामा हाल नख्खु कारागारमा रहेका छन् । केसबहादुर बाठा ‘सुवास’ दाङ जेलमा रहेका छन् । अछामबाट पक्राउ परेकी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य बन्धु चन्द धनगढीमा राखिएको छ ।

त्यस्तै बाजुराबाट पक्राउ परेका केन्द्रीय सदस्य चूडामणि वली ‘आदर्श’ बाजुरा जिल्ला कारागारमा राखिएको छ । यसैगरी काठमाडौंबाट पक्राउ परेका केन्द्रीय सदस्य हितमान र उदयपुरबाट पक्राउ परेका नेता दीपेश राई पनि जेलमै रहेका छन् ।

गिरफ्तार गरिएको समयमा नेता सुदर्शन मध्यकमान्ड इन्चार्ज उमा भुजेल ‘शिलु’ मेची–कोसी ब्युरो इन्चार्ज, वीरजङ्ग पश्चिम कमान्ड संयोजक, भरत वम ‘रणवीर’ स्कुलिङ विभाग, माइला लामा र हितमान विक ‘नवीन’ उपत्यका इन्चार्ज, सुवास राप्ती ब्युरो इन्चार्ज, वसन्तकुमार श्रेष्ठ ‘प्रज्वलन’ पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज, बन्धु चन्द महिला मोर्चा अध्यक्ष, चूडामणि वली ‘आदर्श’ न्याय विभाग प्रमुख रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्