रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता : अध्यक्ष तिमिल्सिना



चितवन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमुखी शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन । बालकुमारी माध्यामिक विद्यालय नारायणगढको स्वर्ण महोत्सव एवं ५४ औँ वार्षिकोत्सवमा आज उनले अहिलेको शिक्षाले बेरोजगार उत्पादन गर्ने काम मात्रै गरेको बताए ।

उनले भने, “शिक्षा लिएको हातमा प्रमाणपत्र छ तर कतै काम पाइँदैन ।” यसले समाजमा नकारात्मक प्रभाव परेको भन्दै उनले अबको शिक्षा हरेक स्थानमा मानिसको शैक्षिक योग्यताको कदर हुने खालको हुन आवश्यक रहेको बताए । “शिक्षा पढाइ मात्रै नभएर यसलाई व्यावहारिक जीवनमा समेत उतार्न सक्नुपर्छ”, उनले भने । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थी जिम्मेवार हुन आवश्यक रहेको उनले बताए ।

सो अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । विद्यालय २०२२ साल माघ १२ गते स्थापना भई सञ्चालनमा आएको हो । रासस

प्रतिक्रिया दिनुहोस्