प्रदेश २ सरकारका मन्त्रीहरुबीच विवाद, सामाजिक सञ्जालमा पोखियो असन्तुष्टि



जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीहरु बिचको विवाद सतहमा आएको छ । राजपा र समाजवादी पार्टीबाट मन्त्री बनेकाहरु सामाजिक सञ्जालमा एक अर्काप्रति आक्षेप लगाउन प्रतिस्पर्धामा लागेको देखिएको छ ।

समाजवादी पार्टीका मन्त्रीहरु राजपाका मन्त्रीहरुको कार्यशैलीका कारण जनता आजित भईसकेकाले उनीहरुलाई परिवर्तन गर्नुपर्ने आवाज उठाइरहेका छन् भने राजपाबाट मन्त्री बनेकाहरु सरकार नै परिवर्तन हुने हल्ला फैलाईरहेका छन् ।

केहीदिन अगाडि मात्रै मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारमा लिप्त रहेका राजपाका मन्त्रीहरुलाई सरकारबाट हटाउने कुराको सार्वजनिक मञ्चबाटै उदघोष गरेका थिए ।

मुख्यमन्त्री राउतको सो अभिव्यक्तिपछि प्रदेश २ मा राजपाका मन्त्रीहरुलाई फेरबदल गरिने चर्चा चुलिएको हो । स्रोतका अनुसार मुख्यमन्त्री राउत सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रामनरेश रायलाई हटाउने पक्षमा रहेका छन् ।

यसैबीच,भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले केही मन्त्रीहरुको कार्यशैलीका कारण गठबन्धनकै साख झरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले अगाडी लेखेका छन् ‘ केही मन्त्रीहरुको कार्यव्यवहार र आत्मपरक शैलीका कारण साखमै परिरहेकोले यसबारे गम्भिर मूल्यांकन हुनुपर्छ ।’

मन्त्री साहले दूबै दलको गठबन्धनको सरकार सञ्चालनमा विभिन्न समस्याहरु समेत देखिएको लेखेका छन् ।

यता उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सामाजिक सञ्जालमा समाजवादी पार्टीका मन्त्रीहरुको कडा आलोेचना गरेका छन् ।

उनले लेखेका छन् ‘नेकपासंग हुँदा समाजवादको कुरा गर्नेहरु काँग्रेससंग लगनगाँठो हुनेबित्तिकै लोकतान्त्रिक समाजवादको वकालत गर्न थाल्नु सैद्धान्तिक बिचलन मात्र होइन नैतिक दिवालियापन पनि हो ।’

उनले आफ्नो अर्को पोष्टमा लेखेका छन् ‘राजपा–नेकपाको जीतबाट सपा आतिनु हुँदैन र राजपा मातिनु हुँदैन । मधेस राजनीतिक गम्भीर मोडमा छ । सबै संयमित होऔं र होस पुर्याऔं ।’

श्रोतका अनुसार प्रदेश २ मा केही दिनपछि मन्त्रीमण्डल फेरबदलो प्रक्रिया अगाडी बढाइने छ । यसका लागि मुख्यमन्त्री राउतले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग समेत कुरा भईसकेको बताइएको छ ।

राजपा तथा समाजवादी मन्त्रीहरु बिच सामाजिक सञ्जालमा जुहारी चलिरहेको समयमा नेकपाका प्रदेश २ का सचिव सुमन प्याकुरेलले वर्तमान सरकार अल्पमतमा रहेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्