सिक्लेस गाउँमा माघेसङ्क्रान्ति मेला



पोखरा : कास्कीको मादी–१ सिक्लेस गाउँमा माघेसङ्क्रान्तिको अवसरमा विगतका वर्षझैँ यस वर्ष पनि भव्य मेला तथा खेलकूदको आयोजना हुने भएको छ । 

 

सिक्लेस युवा क्लबको २४ औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति मेलाको अवसरमा क्लबद्वारा शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइयो ।

 

सो क्लबका अध्यक्ष पदमबहादुर गुरुङले माघ १ गतेदेखि ४ गतेसम्म आयोजित मेलामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने तथा संस्कृति जगेर्ना उद्देश्यका साथ विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने बताए । 

 

कार्यक्रममा युवा क्लबका सचिव एवं मेलाका संयोजक मिलन गुरुङले परम्परागत रुपमा मानिँदै र पुजिँदै आएको स्थानीय तीर्थस्थल ‘म्हउदु’ र ‘फैमक्यु’को प्रचारप्रसार र सिक्लेस गाउँलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न मेला आयोजना गरिएको बताए । 

 

यसका साथै, गाउँमा व्यवस्थित होमस्टे सञ्चालन गर्न, खेल प्रतियोगिता, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, प्रौढ शिक्षा सञ्चालन र युवा विकासका दूरदृष्टि तय गरी आगामी दश वर्षका लक्ष्य सूचक तयार गर्नेलगायतका उद्देश्य राखेर मेलाको आयोजना गरिएको जानकारी दिइयो । 

पर्यटकीयस्थलको रुपमा परिचित गुरुङ जातिको बाहुल्यता रहेको सिक्लेस गाउँ पुग्न पोखराबाट यात्रुवाहक बसको सुविधा छ । 

 

प्रतिक्रिया दिनुहोस्