कष्टकर जीवन जिउँदै कैदीबन्दी



डोटी : जिल्ला कारागारका कैदीबन्दी हिजोआज निकै कष्टकर जीवन जिउन बाध्य भएका छन् । पच्चीस जना मात्र कैदीबन्दीको क्षमता रहेको उक्त कारागारमा दोब्बर कैदी राखिँदा समस्या भएको हो । कारागारमा पानी पर्दा छाना चुहिने भएकाले कैदीबन्दीहरु प्लाष्टिकको छाना बनाएर सुत्न बाध्य छन् । राणाकालमा निर्माण गरिएको पुरानो कारागार जीर्ण भएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताए ।

“भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ,” उनले भने, “कारागार मर्मतका लागि हामीले बजेट माग गरेका छौँ, बजेट आएको छैन आएपछि मर्मत गर्नेछौँ ।” डोटी कारागारका छानामा राणाकालमा लगाइएका स्लेट पनि खिइएर झर्न थालेको कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले बताए । उनले भने, “दिउँसो हामी बाहिर चौरमा हुन्छौँ, सामान्य हुरी चल्दासमेत सिलेट खस्ने र कस्को टाउकोमा लाग्छ र मर्छन् भन्ने चिन्ताले पिरोलेको छ ।”

पर्खालभित्रको ढोकासमेत पुरानो भएका कारण लगाउन गाह्रो हुने गरेको कैदीबन्दी बताउँछन् । रकम अभावले कारागारको जीर्ण भवन मर्मत सम्भारको कार्य हुन नसकेको कारागारका प्रमुख राजन केसीले बताए । “भवन निकै पुरानो भएकाले छत चुहिन्छ, उनले भने, “फर्समा पानी चुहिन्छ र छानाका सिलेट खस्ने भएकाले कैदीबन्दीलाई बस्न निकै गाह्रो छ ।”

मागअनुसार कारागार विभागबाट बजेट नआउँदा डोटी कारागार हालसम्म मर्मत हुन नसकेको कारागारका कर्मचारीहरु बताउँछन् । डोटी कारागारमा पुरुष कैदीबन्दी ४३ र महिला कैदीबन्दी चार गरी हाल कूल ४७ बन्दी रहेका छन् ।

कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी हुँदा खानेपानी थाप्न र शौचालय जानका लागि समेत पालो पखर्नुपर्ने अवस्था रहेको कैदीबन्दीहरु बताउँछन् । कैदीबन्दी भन्छन्, “निकै कष्ट सहेर बाँच्नुपरेको छ । हामीनी नेपाली नागरिक हौँ, सहजरुपमा बाँच्न पाउनुपर्ने हाम्रो अधिकार सुनिश्चित गरिनुपर्छ ।”

कैदमुक्त हुनुभन्दा पहिला जीविका चलाउनका लागि सीपमूलक तालीमको व्यवस्था गरी स्वरोजगार बनाइनुपर्ने कैदीबन्दीको माग रहेको छ । कारागार मर्मतका लागि खासै ठोस बजेट नआएकाले सामान्य वर्षाद् हुँदा पनि झनै दुःख पाइने गरेको कैदी बन्दीहरुको गुनासो छ । जिल्लाको दिपायल सिलगढी नगरपलिकाले जीर्ण कारागार मर्मतका लागि केही रकम दिने आश्वासन दिएको कारागार प्रशासन प्रमुख राजन केसीले जानकारी दिए ।

कैदीबन्दीलाई पढ्न सजिलो होस् भन्ने उद्देश्यले नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय डोटीले केही महिना पहिले कारागारमा पुस्तकालयको समेत व्यवस्था गरेको छ । पुस्तकालय स्थापना भएपछि कैदीबन्दीलाई पुस्तक पढ्न र समय बिताउन सजिलो भएको कैदीबन्दीका नाइके जेठाराले जानकारी दिए । डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो राणाकालीन कारागार हो । रासस

प्रतिक्रिया दिनुहोस्