केही दिनभित्रै कोरोना भाइरसको परीक्षण नेपालमै गरिने



काठमाडौं : चीनको वुहान राज्यबाट फैलिएको प्राणघातक कोरोना भाइरसको परीक्षण नेपालमै हुने व्यवस्था गर्न लागिएको छ ।

नेपालमा उक्त भाइरसको परीक्षणको व्यवस्था नभएकाले एक साताभित्रै नेपालमै परीक्षण गर्ने व्यवस्था गर्न लागिएको अधिकारीहरुले बताएका हुन् ।

चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भित्रिसकेको छ । गत शुक्रवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट आएका एकजना नेपालीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पाइएको जनाएको थियो। नेपालमा उक्त भाइरसको संक्रमण भए नभएको परीक्षण गर्ने व्यवस्था नभएकाले स्याम्पल हङकङ पठाउनुपर्ने वाध्यता रहेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठका अनुसार कोरोनाभाइरसको परीक्षणको व्यवस्था मिलाउन सबै तयारी भइसकेको छ । उनले एक साताभित्र नै सवै व्यवस्था हुने जानकारी दिए ।

उक्त भाइरसको संक्रमणबाट चीनमा अहिलेसम्म ५६ जनाले ज्यान गुमाइसकेका छन् भने २००० भन्दा बढी संक्रमित भएका छन् ।

भाइरसले महामारीको रुप लिन सक्ने भन्दै विभिन्न व्यक्तिहरुले चेतावनी समेत दिएका छन् । यो भाइरसको संक्रमण चीन र नेपालबाहेक अन्य देशहरुमा पनि देखिन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्