पार्टी र सरकारविरुद्ध षड्यन्त्र भयाे, साना गल्तीलाई पनि अतिरन्जित गरियाे: दाहाल



गोरखा : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी र सरकारविरुद्ध षड्यन्त्र भएको बताएका छन् । गोरखा सदरमुकाममा शनिबारबाट भएको दसैं सस्तो बजार एवं सडक मेला २०७५ को उद्घाटन समारोहमा भाग लिन आएका दाहालले कार्यकर्ता प्रशिक्षणमा अहिलेको परिवर्तन, कम्युनिष्ट पार्टीको एकता र नेतृत्वको भरोषा तोड्न अनेकौँ प्रयास भएको बताए ।

‘प्रतिक्रियावादी र अवसरवादीहरुले माया र दया गरेर पाएको अवसर होइन,’ दाहालले भने,‘संसारभरीकै प्रतिक्रियावादीहरुका लागि अहिलेको परिवर्तन र कम्युनिष्ट एकता टाउको दुखाइको विषय बनेको छ ।’ कम्युनिष्ट एकतापछि परिवर्तनको आशा र अपेक्षा जनतामा रहेको भन्दै उनले एकता सुदृढ गरी जिम्मेवारीपूर्वक पूरा गर्ने बताए ।

 

कम्युनिष्ट पार्टी कमजोर भयो भने गुटबन्दी र अराजकताले हुने उनको भनाइ छ ।

 

सरकारलाई राम्रोसँग काम गर्न नदिन साना गल्तीलाई पनि अतिरन्जित गरेको उनले आरोप लगाए । उनले भने, 'सरकारको साना-ठूला त्रुटि अतिरन्जित गर्ने त प्रतिक्रियावादीहरुको धर्म नै भइहाल्यो,’ उनले भने । परिर्वतनका पक्षधरलाई शासनसत्ता चलाउने अनुभव नहुँदा अरुले चलखेल गरेको दाहालको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्