कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै



काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (सोमबार) बस्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहित प्रस्ताव पेश हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महमाधिवेशको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवाद शीर्ष नेताहरुको बैठकले टुंग्याएपछि आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा संस्थापन इतर समूह पनि सहभागी हुने कांग्रेस प्रवक्ता शर्माले बताए ।

यसअघि पटक–पटक बसेको केन्द्रीय समितिको बैठकमा असन्तुष्ट जनाउँदै बहिस्कार गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहितका नेताहरु सहभागी हुने भएका हुन् ।

पार्टीको १४औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गतेको कार्यसमिति बैठक पौडेलले बहिष्कार गर्दै आएका थिए ।

यसैगरी अर्को वर्ष फागुन ७ देखि १० गते महाधिवेश गर्ने मिति यतावत राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमति शीर्ष नेताहरुबीच भएपछि आज बस्ने बैठकमा संशोधन कार्यतालिका पेश हुने प्रवक्ता शर्माले बताए ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमाबसेको शीर्ष नेताहरुले बैठकमा आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यद्वय डा. मिलेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो ।

पुस ११ गतेको केन्द्रीय समिति बैठकले अर्काे वर्ष मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो। २०७७ मंसिर ९ मा गाउँ÷नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ÷नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, मंसिर १७ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, मंसिर २५ मा जिल्ला अधिवेशन, पुस १५ गते र फागुन ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्