प्रदेश २ को राजधानी जनकपुरधाम !



जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ । प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको हो ।

सभामुख यादवले भने, ‘समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाईसकेको छ ।’ उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको छ । उनले भने,‘समितिले टुंगो लगाएको राजधानी जनकपुरधाम प्रदेशसभाको दुईतिहाई बहुमतले पारित गरेपछि औपचारिक रुपमा कायम नै हुनेछ । विभिन्न दलका प्रस्तावक तथा समर्थक,संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगेको हो ।

प्रदेशको राजधानी र नाम सम्बन्धमा विभिन्न दलका प्रदेशसभा सदस्यहरुले प्रदेश सभामा भदौ ५ गते प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो ।

समितिमा उपसभामुख उपमा देव, नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र प्रदेशसभा सदस्य नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामअशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी प्रदेशसभा सदस्य सावित्रीदेवी साह लगायतकाहरु सदस्य छन् ।

प्रदेशको राजधानीको विषयमा विशेष समितिमा टुंगो लागेपनि नामको विषयमा भने सहमति हुन सकेको छैन् । नामको टुंगो लगाउने विषयमा विशेष समितिमा छलफल तथा कसरत भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्