सरसफाई अभियानकर्मी मानव र महर्जनले जनकपुर सफा गरे



जनकपुरधाम : विश्व सरसफाई अभियानकर्मी राजमान मानव र सुशीला महर्जनको पहलमा पूर्वनिर्धारित कार्यक्रमअनुसार शनिबार बिहान "मानवीय फोहर टिप्ने कार्यक्रम " सम्पन्न भएको  छ । सर्वपक्षिय बैठकबाट गठित समितिको अगुवाइमा जनकपुरधामको १० वटा  टोल /चोक र निर्धारित २ वटा रूटमा फोहर टिप्ने कार्यक्रम भएको हो ।

 

दशरथ नगर, सरस्वती नगर, किशोरी नगर, जिरोमाइल, भैरव  चोक (बाल उद्यान ), जानकी चोक, नमूनाववस्ती, बल्वा टोल, रेल्वे  स्टेशन, परबाहा टोललगायत विभिन्न टोल  र चोकमा सम्बन्धित टोल सुधार समिति,  त्यसैगरी २ वटा रूटमा क्रमशः मानवको नेतृत्वमा जनक चोकदेखि राम  चोक, महाबीर चोक, कल्वार कुटी, सरहन्चिया कुटी हुँदै मूरली चोकसम्म र महर्जनको नेतृत्वमा जनक चोकदेखि रेल्वे स्टेशनसम्म सरसफाई गरिएको थियो । कार्यक्रममा समाजका अगुवाहरु, सरसफाई अभियानी, विभिन्न  क्लव, संघ संस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल  आर्मी तथा युवाहरूको उलेख्य सहभागिता थियो  ।

 

सरसफाई कार्यक्रमको समापनमा बोल्दै विश्व सरसफाई अभियानकर्मी मानवले कार्यक्रममा सहभागी अभियानी, टोल सुधार समिति र सहयोगीलाई धन्यवाद दिदै निरन्तरता दिन जोड दिए । उनले भने "जथाभावी फोहर नफाल्नुहोस् र कम्तिमा महिनामा एकपटक सबैले आ-आफ्नो घर अगाडि सफाइ गरौं ।" 

 

सहरको भित्री भागमा धेरै फोहर रहेकोले यो कुरामा सबैलाई गम्भीर हुन आग्रह गर्दै अभियानकर्मी मानवले फोहर उठाउने कार्यलाई प्रभावकारीरूपले कार्यान्वयन गर्न सरोकारवालालाई सध्यानाकर्षण गराए ।

 

समापनमा बोल्दै समितिका संयोजक दिपक ठाकुरले सरसफाई कार्यक्रमले सरसफाईका नयाँ तरिका सिक्न पाएकोमा खुसी व्यक्त गर्दै सरसफाई अभियानी राजमान मानव र सुशिला महर्जनप्रति आभार प्रकट गरे । मानवको पहलले सरसफाई अभियानकर्मीमा थप उर्जा प्रवाह गरेको ठाकुरको भनाइ थियो  ।

 

समितिका सदस्य सचिव विकास साहले सम्बन्धित निकाय र जनकपुरधाम उपमहानगरपालिका कार्यालयका मेयर लालकिशोर साहले राजमान मानवको पहललाई बेवास्ता गरेकोमा दु:ख व्यक्त गरे । 

 

उनले भने, "राजमान दाईलाई मेयर साहबको संयोजकत्वमा कार्यक्रम गर्ने योजना थियो, अरु नगरपालिकामा नगर प्रमुखले नै समन्वय संयोजन गरेको हो तर, जनकपुरधाममा पटक-पटक प्रयास गर्दा पनि यस्तो हुन सकेन ।"

 

सरसफाई कार्यक्रमको समितिमा विजेता झा, सरस्वती श्रेष्ठ, रूबी झा, मनोज राय, धिरज साह, सन्तोष साह र  कयूम राइन सदस्य रहेका थिए । विश्व सरसफाई अभियानकर्मीद्वय राजमान मानव र सुशीला महर्जनलाई शनिबार नै मायाको चिनो प्रदान गरी बिदाइ गरिएको छ । महाकालीदेखि मेचीसम्मको यात्रामा रहेका उनीहरू विराटनगर प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहोस्