पत्रकारिताको स्तरियता कायम राख्न प्रदेश प्रमुख कायस्थको सुझाव



जनपुरधाम : प्रदेश नं. २ प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारिताको स्तरियता कायम राख्न सुझाव दिएका छन् ।

 

नेपाल पत्रकार महासंघ धनुषा शाखाको १० औं साधारण सभालाई उद्घाटन गर्दै प्रदेश प्रमुख कायस्थले सो कुरा बताए । मुलुक नयाँ संरचनामा गइसकेकाले प्रदेश तथा स्थानीय सरकारलाई पत्रकारहरुले दिशानिर्देश गर्न सुझाव दिए । 

 

स्थानीय तथा प्रदेशमा हुने गरेका कमी कमजोरीहरुलाई औंल्याई प्रदेश तथा देशको विकासमा एकजुट भएर लाग्नुपर्ने उनको भनाई थियो । सरकारलाई सहयोग तथा खबरदारी गर्न पनि पत्रकारहरुलाई सुझाव दिए ।

 

असल, शिक्षित तथा बुद्धिजीवी पत्रकारहरुको पहिचान गरी खोज पत्रकारितामा अग्रसर गराउनु पत्रकार महास‌ंघको दायित्व रहेको उनले बताए ।पत्रकारितालाई कसरी व्यवस्थित र मर्यादित बनाउँदै व्यपसायिक बनाउन सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरी सरकारलाई बुझाउनसमेत सुझाव दिए । 

 

साधारण सभामा वरिष्ठ पत्रकार तथा स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, पत्रकार तथा प्रदेश सांसद राम अशिष यादव, मनीका झा, सुभाष कर्ण, हिमांशु चौधरी, पत्रकार महासंघका पूर्व अध्यक्षलगायत करिब १ दर्जन बढी पत्रकारहरुले शुभकामना तथा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्