जुवा खालबाट वडाअध्यक्ष सहित १६ जना पक्राउ



धनगढी : जुवाको खालबाट वडाअध्यक्ष सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई धनगढी उपमहानगरपालिका ३ मिलनचोकमा जुवा खेलिरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक(डिएसपी) लक्ष्य बस्नेतले बताए ।

डिएसपी बस्नेतका अनुसार जुवा खेलिरहेको गोदावरी नगरपालिका १० का अध्यक्ष रविन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरिएको र उनीहरुको साथबाट २२ लाख ८२ हजार रुपैयाँ पनि बरामद गरिएको छ ।

पक्राउ पर्नेमा वडाध्यक्ष शाहीसहित कञ्चनपुर भीमदत्त नगरपालिका ३ का ३४ वर्षीय धिरेन्द्र चन्द, कञ्चननपुर बेलौरी नगरपालिका १ का ३४ वर्षीय भुवन कुँवर,कैलाली धनगढी उपमहानगरपालिका ३ का ३८ वर्षीय तिलक अधिकारी, वडा नम्बर १३ का ३४ वर्षीय रमेश खड्का, वडा नम्बर ४ का ३५ वर्षीय खेमराज भट्ट, वडा नम्बर २ का ४१ वर्षीय जनक दौल्याल, वडा नम्बर १० का २८ वर्षीय सन्देष तामाङ, गोदावरी नगरपालिका ३ का ३८ वर्षीय मोहन खड्का रहेका छन् ।

त्यसैगरी बैतडी दशरथ चन्द नगरपालिका ८ का ३१ वर्षीय अमित गुरुङ, दशरथ चन्द नगरपालिका ४ का ३० वर्षीय सूर्य भट्ट, पुर्चौडी नगरपालिका ८ का ५० वर्षीय कालु सिंह धामी, बझाङ जयपृथ्वी नगरपालिका १० का ३५ वर्षीय प्रेमबहादुर सिंह, कैलाली धनगढी उपमहानगरपालिका ३ का ३७ वर्षीय चन्द्रमणि अधिकारी, दार्चुला नौगाड गाउँपालिका ४ का ३३ वर्षीय जय सिंह धामी र महाकाली नगरपालिका ४ का ३८ वर्षीय मंगल ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्